सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले सञ्चार माध्यमको कर्तव्य र क्षमता अत्यन्तै विशाल रहेको बताउनुभएको छ। राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ स्थापना दिवसको अवसरमा रासस कर्णाली प्रदेश कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

राससको विश्वसनीयताको प्रशंसा
मन्त्री शाहले राससलाई मुलुकको गौरवमय इतिहास बोकेको संस्थाका रूपमा चित्रण गर्दै यसले प्रवाह गर्ने समाचार स्वच्छ, भरपर्दो र विश्वसनीय रहेको उल्लेख गर्नुभयो। “राससले आफ्नो छवि र विश्वसनीयतालाई कहिल्यै डगमगाउन दिएको छैन,” उहाँले भन्नुभयो, “पत्रकारहरूले कुनै आग्रह वा पूर्वाग्रह नराखी सरकारका राम्रा र नराम्रा दुवै गतिविधिलाई जनतासामु ल्याउनुपर्छ।” उहाँले जनतालाई सुसूचित गर्ने राससको उद्देश्यमा थप आत्मनिर्भर बन्नुपर्नेमा समेत जोड दिनुभयो।
सङ्कटको सारथि रासस
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले कोरोना महामारीपछि निजी मिडियाहरू खुम्चिँदै गएको अवस्थामा पनि राससले आफूलाई थप जिम्मेवार र विस्तारित बनाएको बताउनुभयो। मुलुक सङ्कटमा पर्दा रासस निजी सञ्चार गृहहरूका लागि मुख्य स्रोत र सहयोगी बन्ने गरेको उहाँको भनाई थियो। त्यस्तै, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष अप्सरा विष्टले सरकारी समाचार संस्था भएकाले राससले कर्णाली जस्तो दुर्गम क्षेत्रका मुद्दालाई अझ बढी प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो।

आचारसंहिता र पत्रकारिताको मूल्य
पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुशील खड्काले पछिल्लो समय ‘भ्यूज’ को पछि लाग्ने होडबाजीले निर्वाचन आचारसंहिता र पत्रकारिताको मूल्य-मान्यतामाथि चुनौती थपिएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूले आफ्नो व्यक्तिगत आस्थालाई समाचारमा मिसिन दिन नहुने र तटस्थता कायम राख्नुपर्नेमा जोड दिनुभयो।
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा सञ्चार माध्यमले खेल्ने भूमिकाले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन मद्दत पुग्ने सहभागीहरूको ठम्याई थियो
प्रतिक्रिया दिनुहोस्