२०८३ वैशाख ६ , आइतबार
सुर्खेतमा रास्वपाको 'परिवर्तन उद्घोष'

रवि र बालेनले कर्णाली तरङ्गित



सुर्खेत । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीको मुटु वीरेन्द्रनगरबाट आफ्नो पाँच वर्षे चुनावी ‘बाचापत्र’ सार्वजनिक गरेको छ। ७५ औँ प्रजातन्त्र दिवसको अवसर पारेर बिहीबार आयोजित ‘परिवर्तन उद्घोष सभा’ मार्फत रास्वपाले देश बदल्ने संकल्प गरेको हो।

रवि र बालेनको उपस्थितिले तातियो घण्टाघर

वीरेन्द्रनगरको घण्टाघर परिसरमा आयोजित सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह (बालेन) को संयुक्त उपस्थितिले जनसागर उर्लिएको थियो। सुरक्षा निकायका अनुसार करिब १० देखि १२ हजारको संख्यामा रहेका सहभागीहरूले घण्टाघरको मैदान मात्र होइन, वरपरका सडक, घरका छत र होटलका झ्यालहरू समेत भरिभराउ थिए।

सभापति लामिछानेको बाचा: ‘कर्णाली अब प्रयोगशाला बन्दैन’

सञ्चारकर्मीका रूपमा कालिकोटको रास्कोटमा अस्पताल बनाएको स्मरण गर्दै लामिछानेले कर्णालीप्रतिको सहानुभूति बटुले। उनले पुराना दलहरूले कर्णालीलाई केवल राजनीतिक ‘प्रयोगशाला’ बनाएको आरोप लगाउँदै रास्वपाले अब यसको परिचय बदल्ने दाबी गरे। “आजसम्म नेता र पार्टीले जिते, यो पटक जनता जिताउने हो,” लामिछानेले भने, “पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिनुस्, यदि काम गर्न सकेनौँ भने यही घण्टीले हामीलाई नै बजाइदिनुहोला।” उनले पूर्वप्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै ‘खतराको हेलिकप्टर’ पुनः सिंहदरबारमा ल्यान्ड हुन नदिने चेतावनीसमेत दिए।

बालेनको तीन मिनेट: ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’

वरिष्ठ नेता बालेन शाहले केवल तीन मिनेट सम्बोधन गरे, तर उनको छोटो मन्तव्यले सामाजिक सञ्जाल र सभास्थल दुवै तरङ्गित बनायो। “म नेपाल हाँसेको हेर्न चाहन्छु” भन्ने गीतको पृष्ठभूमिमा उनले कर्णालीको सभ्यता, रारा तालको गहिराइ र यहाँका जडीबुटीलाई सुनसँग तुलना गरे। “कर्णालीको यार्सागुम्बा विश्वभर पुग्छ, तर स्याउ र मार्सी चामल झापा-चितवन पुग्न सकेको छैन,” बालेनले भने, “हामी कर्णालीको गरिबी देख्ने मात्र होइन, यसको मर्म बुझ्ने र यहाँको उत्पादनलाई बजार दिने संकल्प बोकेर संसद् जान चाहन्छु।”

वाग्ले र अर्यालको दृष्टि: मध्यम वर्ग र सुशासन

उपसभापति डा. स्वर्णिम वाग्लेले यसपटकको बाचापत्रले मध्यम वर्गलाई केन्द्रमा राखेको स्पष्ट पारे। सुशासन, रोजगारी सिर्जना र विदेशमा रहेका नेपालीका मुद्दालाई प्राथमिकता दिइएको उनको भनाइ थियो। अर्का उपसभापति डिपी अर्यालले रवि र बालेनलाई जनताकै चाहनाअनुसार एउटै मञ्चमा ल्याइएको बताउँदै फागुन २१ मा ‘घण्टी’ मा मतदान गरी दुई तिहाइ दिलाउन आग्रह गरे।

फरक शैलीको छोटो सभा

परम्परागत दलहरूका सभा दिनभर चल्ने र लामा भाषणले सहभागीहरू थाक्ने गरे पनि रास्वपाको सभा भने करिब साढे दुई घण्टामै सकिएको थियो। उम्मेदवारहरूलाई ३ मिनेट र शीर्ष नेताहरूलाई छोटो समय दिएर सभालाई छरितो र प्रभावकारी बनाइएको थियो। घण्टाघर क्षेत्रमा मानिसहरूको अभूतपूर्व उपस्थिति र उत्साहले सुर्खेतमा वैकल्पिक राजनीतिको लहर सशक्त देखिएको छ।

प्रकाशित मिति : २०८२ फागुन ८ गते शुक्रबार