२०८३ वैशाख ५ , शनिबार
प्राेफाइल

पूर्वबाट फेरि उदाउने दाउमा छन् ध्रुव !



२७ वर्षको लक्का जवान । पढाइमा अब्बल । शिक्षण पेशाको अनुभव । एक हिसावले भन्दा दुःखले नेटो काटिसकेको थियो । शिक्षण पेशालाई नै निरन्तरता दिएर आनन्दको जीवन जिउन पाउने अवसर थियो । तर राजनीति गरेर समाज सेवा गर्ने हुटहुटिले ध्रुवकुमार शाहीलाई मूल राजनीतिमा डोहोयायो । उज्जवल भविष्यको सपना त्यागेर उनी आजभन्दा तीन दशकअघि अर्थात २०५४ सालमा मूल राजनीतिमा हाम फाले । संयोग भन्यौँ वा भाग्य पहिलो पटकमै ध्रुव चम्कीए अर्थात तत्कालीन सहारे गाविसको अध्यक्षमा निर्वाचित भए ।
त्यसपछिका झण्डै तीन दशक भने ध्रुवको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो । अर्थात लामो समय राजनीतिमा लाभको पदमा पुग्न पाएनन् । पुग्न त उनी क्याम्पस र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा गरे । तर राजनीति गरेकै कारण प्राप्त हुनुपर्ने पदमा पुग्नै पाएनन् । अर्थात ध्रुवलाई लाभको पदमा पुग्न ०२७४ सम्म कुर्नुप¥यो । २०७४ सालमा आएर मात्रै उनले संसदीय राजनीतिमा उक्लने मौका पाए ।
तत्कालीन अवस्थामा माओवादी केन्द्र र एमाले बीच चुनावी तालमेल हुँदा ध्रुवले नेपाली काँग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका थिए । जसबेला शाहीले तीन हजार तीन सय ८२ मतको अन्तरले खड्कालाई पराजित गरेका थिए । शाहीले कुल ३६ हजार ७ सय ५९ मत ल्याएर विजयी हुँदा उनका निकतम प्रतिस्पर्धी खड्काले ३३ हजार ३ सय ७७ मत मात्रै मात्र पाएका थिए ।
अवसर त २०७९ सालमा आएको थियो । तर भाग्य बलियो भएन क्यारे । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा त्यसको ठिक उल्टो भएको थियो । खड्कासँगै पराजित भएका थिए । जसबेला खड्काले शाहीलाई ११ हजार ६ सय १९ मतको अन्तरले पराजित गरेका थिए । खड्काले कुल ४२ हजार ६ सय ७ मत ल्याएर विजयी हुँदा शाहीले जम्मा ३० हजार ९ सय ८८ मत ल्याए । यो बेला उही खड्काले नेकपा माओवादी केन्द्रले सहयोग गरेको थियो । सोही कारण खड्काले चुनाव ठूलो मतान्तरले जित्न सफल भएका थिए । दुई पटक निर्वाचन लड्दा एक पटक हार र एक पटक जित हात पारेका ध्रुव फेरि पनि चुनावी मैदानमा उत्रिएका छन् ।


यसपालि फेरि उनै ध्रुवलाइ सुर्खेतको पूर्व भागमा चम्किने अवसर मिलेको छ । किनकि आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेबाट उनी सुर्खेत क्षेत्र नं. १ को उम्मेद्वार छन् । सदाबहार प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्णले मैदान छोडेका कारण हो कि किन हो कुन्नी यसपालि भने ध्रुव निकै हौसिएका छन् ।
पूर्णसँग भिड्दा एक पटक हार र एक पटक जितको स्वाद चाखेका ध्रुवले यसपालि उनै खड्काका सहोदर भाइ विष्णुसँग प्रतिस्पर्धा हुने छ । हुन त सुर्खेत क्षेत्र नं. १ मा विष्णुसहित १३ जना उम्मेद्वारहरु चुनावी मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा ध्रुव र विष्णुकै हुने देखिन्छ ।
नेकपा एमालेले चुनाव जित्न सक्ने कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये दोस्रो नम्बरमा ध्रुवको नाम छ । एमालेले निर्वाचन जित्ने दाबी गरेको पहिलो नम्बरमा सल्यान छ भने दोस्रोमा उनै ध्रुवको क्षेत्र छ । हुन त यसपालि पनि कांग्रेसका उम्मेद्वार उनै पूर्णका सहोदर भाई विष्णु चुनावी मैदानमा छन् । कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री खड्कालाई पहिलो पटक हारको स्वाद चखाएका कारण पनि धु्रवले यसपालि सहज ठानेको हुनुपर्छ ।
पूर्वी सुर्खेतबाट टेकबहादुर सिंह काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् । जसका कारण सिम्ता क्षेत्रको भोट विष्णु र धु्रव दुबैलाई घट्ने सम्भावना छ ।


उसो त क्षेत्र नं. १ का प्रभावशाली नेता ठम्मर विष्टले पनि एमालेको साथ छोडेर उज्यालो पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका छन् । विष्ट अघिल्लो निर्वाचनमा एमालेसँगै थिए । जसका कारण शाहीलाई केही सहज भएको थियो । तर यसपालि उनै विष्ट उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । शाहीलाई विष्ट र खड्कालाई सिंहले साथ छोडेपछि दुबैका लागि हिसाव किताव बराबर अवस्थामा छ ।
सधै कार्यकर्ताको भलो चिताउने ध्रुव मध्यम बर्गिय परिवारमा हुर्किएका हुन् । विस २०२७ जेठ ११ गते आमा चित्रकुमारी र बुवा स्व.चक्रबहादुर शाहीबाट गुर्भाकोट १ (साविक मालारानी गाविस वडा नं ४) जन्म लिएका हुन् । सानै उमेरमा बुवाको स्नेहबाट बन्चित भएका उनको बाल्यकाल संघर्षमै वित्यो । सायद यही भएर होला, साना दुःख र अभावदेखि उनी कहिलै डराउँदैनन् ।
वाणिज्य शास्त्रमा स्नात्तकोत्तर गरेका शाहीले विस २०४५ सालमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै गर्दा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीतिको पाइला चालेका हुन् । गाउँ कमिटी इलाका सदस्य, जिल्ला कमिटी सदस्यहुँदै पार्टी राजनीतिमा छलाङ् मारेका ध्रुव २०६३ मा उपसचिवमा निर्वाचित भए । २०६६ मा जिल्ला कमिटी अध्यक्षमा उठेका उनी नवराज रावतसँग पराजित भए । तर २०७० मा आएर उनै रावतलाई पराजित गरेर बदला लिँदै सुर्खेत एमालेको अध्यक्ष भए । २०७४ मा आएर अध्यक्षमा आफ्नो कार्यकाल दोहो¥याउन सफलका उनी एमाले कर्णाली प्रदेश कमिटी सचिव हुन् । बुलबुले एफएमको संस्थापक अध्यक्ष, गुर्भाकोट बहुमुखी क्याम्पस सहारेको संस्थापक अध्यक्ष भएर काम गरिसकेका छन् ।

प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार