सुर्खेत । “जान्नेलाई छान्ने” र “पुरानोलाई फाल्ने” नाराका साथ कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवारको पृष्ठभूमिले नयाँ बहस सिर्जना गरेको छ। नयाँ र वैकल्पिक शक्तिको दाबी गरे पनि कर्णालीमा रास्वपाका अधिकांश उम्मेदवारहरू वर्षौँसम्म कांग्रेस, एमाले र माओवादीमा बसेर सत्ताको लाभ लिएका ‘पुराना’ अनुहारहरू नै देखिएका छन्।

सुर्खेतमा कांग्रेसका पूर्वविरासत
सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले कांग्रेसका पुराना हस्तीहरूलाई चुनावी मैदानमा उतारेको छ। क्षेत्र नम्बर १ का उम्मेदवार टेकबहादुर सिंह कांग्रेसका पूर्वजिल्ला उपसभापति हुन्। २०७४ को प्रदेशसभा निर्वाचनमा कांग्रेसबाटै उम्मेदवार बनेका उनी तत्कालीन वाम गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका थिए। कांग्रेसभित्र रहँदा ‘धेरै अवसर पाउने’ नेताका रूपमा चिनिने सिंह अहिले रास्वपाको घण्टी बोकेर हिँडेका छन्।
त्यस्तै, क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका रमेशकुमार सापकोटा पनि कांग्रेस वीरेन्द्रनगर नगर समितिका पूर्वसचिव हुन्। एमालेबाट राजनीति सुरु गरी कांग्रेस हुँदै रास्वपा पुगेका सापकोटा नाम चलेका यातायात व्यवसायी हुन्। कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण रास्वपा छिरेका सापकोटा अहिले आफ्नै पूर्वसहकर्मीहरू विरुद्ध चुनावी मैदानमा उत्रिएका छन्।
पद र प्रतिष्ठाका भोकाहरू
दैलेखमा रास्वपाका उम्मेदवारहरू झनै ‘लाभको पद’ उपभोग गरेका व्यक्तिहरू देखिएका छन्। क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका नन्दकिशोर बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको दुई कार्यकाल अध्यक्ष र महाप्रबन्धक बनेका थिए। एमालेमा टिकट नपाएपछि रास्वपा प्रवेश गरेका बस्नेतले लामो समय एमालेको प्रदेश कमिटी सदस्य र जिल्ला पदाधिकारीको दाबेदार भएर राजनीति गरेका थिए।
क्षेत्र नम्बर २ का उम्मेदवार बखतबहादुर शाही पनि माओवादी केन्द्र निकटका व्यक्ति हुन्। माओवादीकै कोटाबाट उनी विद्युत् उत्पादन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (CEO) जस्तो आकर्षक पदमा बसेर काम गरिसकेका छन्। कर्णालीका अन्य जिल्लाहरूमा पनि रास्वपाका उम्मेदवारहरूको सूची हेर्ने हो भने अधिकांश कांग्रेस, एमाले र माओवादीको स्कुलिङबाट आएका र पार्टीमा हुँदा विभिन्न राजनीतिक नियुक्ति खाइसकेका नेताहरू नै छन्।
नयाँ भित्र पुरानाको वर्चस्व
पुराना दलहरूले देश बिगारेको आरोप लगाउँदै हिँड्ने रास्वपाका यी उम्मेदवारहरूले हिजो आफैँ ती दलमा रहँदा के गरे? भन्ने प्रश्न अहिले मतदातामाझ उठ्न थालेको छ। पार्टी फेरेर ‘नयाँ’ र ‘स्वच्छ’ बनेको दाबी गरिरहेका यी नेताहरूका लागि यो निर्वाचन केवल राजनीतिक कमब्याक गर्ने दाउ मात्र हो वा साँच्चै परिवर्तनको चाहना, त्यो भने फागुन २१ को नतिजाले नै स्पष्ट पार्नेछ।
प्रतिक्रिया दिनुहोस्