२०८३ वैशाख ६ , आइतबार
सुर्खेतमा सडक असुरक्षाको डरलाग्दो चित्र

एक महिनामै ७३ दुर्घटना, ५ को मृत्यु



सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरसहित सुर्खेतका सडकहरू पछिल्लो समय असुरक्षित बन्दै गएका छन्। बढ्दो सवारी चाप र ट्राफिक नियमको बेवास्ताका कारण जिल्लामा सडक दुर्घटनाको दर चिन्ताजनक रूपमा उकालो लागेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतको पछिल्लो तथ्याङ्कले सडक सुरक्षाको अवस्था भयावह रहेको संकेत गरेको छ।

एक महिनाको भयावह तथ्याङ्क

जिल्ला प्रहरी कार्यालयका अनुसार गत माघ महिनामा मात्रै सुर्खेतमा ७३ वटा सवारी साधन दुर्घटनामा परेका छन्। यी दुर्घटनाहरूमा परी ५ जनाले अकालमै ज्यान गुमाएका छन्, जसमा २ महिला र ३ पुरुष रहेका छन्। सडक दुर्घटना ज्यान लिने मात्र नभई अंगभंग गराउने मुख्य कारणसमेत बनेको छ। माघ महिनामा मात्रै २३ जनाले गम्भीर चोटपटक बेहोरेका छन् भने ६१ जना सामान्य घाइते भएका छन्। यसले सुर्खेतका सडकमा यात्रा गर्नु कति जोखिमपूर्ण बन्दैछ भन्ने देखाउँछ।

मोटरसाइकल सबैभन्दा जोखिममा

दुर्घटनामा परेका सवारी साधनको प्रकृति हेर्दा दुईपाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सबैभन्दा बढी जोखिममा देखिएका छन्। कुल दुर्घटनामा परेका ७३ सवारीमध्ये ३५ वटा त मोटरसाइकल मात्रै छन्। यसबाहेक १३ जिप तथा कार, १० टेम्पो, ८ माइक्रो र टिप्पर तथा ५ वटा ट्याक्टर दुर्घटनामा परेका छन्। तीव्र गति र जथाभाबी ओभरटेक गर्ने प्रवृत्तिका कारण मोटरसाइकल दुर्घटना बढी हुने गरेको प्रहरीको विश्लेषण छ।

राजस्व संकलनमा वृद्धि, तर सुधार खै ?

ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध प्रहरीले कारबाहीलाई निकै तीव्र पारेको छ। माघ महिनाभर १ हजार २२ वटा सवारी साधनलाई कारबाही गरिएको छ, जसबाट राज्यकोषमा ९ लाख ३९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार प्रहरीले नियम मिच्नेलाई जरिवाना त तिराएको छ, तर जरिवाना मात्रै दुर्घटना न्यूनीकरणको समाधान बनेको देखिँदैन।

दुर्घटना बढ्नुका कारण र चुनौती

वीरेन्द्रनगरका साँघुरा सडक, सडक छेउमा हुने अव्यवस्थित पार्किङ र तीव्र गतिको मोहले दुर्घटना बढाइरहेको छ। विशेषगरी राजधानीभित्रका भित्री सडकहरूमा सवारी साधनको अनियन्त्रित गति र ट्राफिक संकेतको पालना नगर्ने प्रवृत्ति नै मुख्य चुनौती बनेको छ। प्रहरीले राजस्व संकलन र कारबाहीलाई मात्र प्राथमिकता दिनुको सट्टा सडक सुरक्षासम्बन्धी जनचेतना र सडकको गुणस्तर सुधारमा पनि ध्यान दिनुपर्ने देखिन्छ।

महिनाकै ८९ जना मानिस सडक दुर्घटनाबाट प्रत्यक्ष प्रभावित हुनुले सुर्खेतमा सडक सुरक्षाको गम्भीर संकट देखाउँछ। यस्तो अवस्थामा केवल प्रहरीको डण्डाले मात्र होइन, चालकको सावधानी र पैदल यात्रीको सचेतनाले मात्र सडक यात्रालाई सुरक्षित बनाउन सकिन्छ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार