सुर्खेत । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै नेकपा एमालेले सुर्खेतमा मतदाता भेटघाट र घरदैलो अभियानलाई निकै तीव्रता दिएको छ। यसैक्रममा मंगलबार वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ र ६ का विभिन्न टोलहरूमा एमालेका उम्मेदवार र नेताहरूले उत्साहजनक घरदैलो गरेका छन्।
घरदैलो अभियानमा एमाले सचिव एवं कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, केन्द्रीय सदस्यहरू मोहनमाया ढकाल र पद्मा खड्कासहित सुर्खेत क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणि देवकोटा सहभागी हुनुहुन्थ्यो। टोल–टोलमा पुग्दा मतदाताहरूले उम्मेदवार देवकोटालाई फूलमाला र खादाले भव्य स्वागत गरेका थिए।

भेटघाटका क्रममा उम्मेदवार देवकोटाले देशको विकास र समृद्धिको एजेन्डा केवल एमालेसँग मात्रै भएको दाबी गर्दै आफूलाई जिताउन आग्रह गर्नुभयो। उहाँले जनतासामु गरेका हरेक प्रतिबद्धता पूरा गर्न आफू सधैँ सेवामा समर्पित रहने अठोटसमेत व्यक्त गर्नुभयो।
एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार वीरेन्द्रनगरका विभिन्न टोलमा भएको यो भेटघाट निकै उत्साहजनक रहेको र मतदाताको सकारात्मक प्रतिक्रियाले एमालेको जित सुनिश्चित देखिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले कार्यकर्ता र शुभेच्छुकहरूको ठूलो पङ्क्तिसहित आफ्नो चुनावी अभियानलाई वडा र टोल तहसम्म पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस्