२०८३ वैशाख ६ , आइतबार
सुर्खेत २ काे चुनावी मैदान

कस्ताे हाेला नयाँ अनुहारबीच रोचक भिडन्त ?



सुर्खेत । प्रदेश राजधानी समेत रहेकाे सुर्खेत क्षेत्र नं. २ मा यसपालिका निर्वाचन राेचक हुने देखिएकाे छ । राेचक यसअर्थमा कि यसपालि सबै दलबाट नयाँ र युवाहरू अनुहार चुनावी मैदानमा छन् । किनकि चार दशभन्दा लामाे समय यही क्षेत्रबाट राजनीतिक करियर सुरू गरेका अनुवभी नेताहरूले यसपालि मैदान छाेडिदिएका छन् । यही क्षेत्रबाट  २०४८ सालयताका अधिकांश निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने सुर्खेत क्षेत्र नम्बर २ मा यसपटकको दृश्य फेरिएको छ। दशकौँदेखि यो क्षेत्रको राजनीतिमा आमने-सामने हुँदै आएका कांग्रेसका हृदयराम थानी र एमालेका यामलाल कँडेल दुवै यसपटक प्रतिनिधिसभाको चुनावी मैदानमा छैनन्। कँडेल प्रदेशको मुख्यमन्त्रीका रूपमा सक्रिय छन् भने थानीले स्वास्थ्यका कारण विश्राम लिएपछि यो क्षेत्रमा पहिलोपटक नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुँदैछ।

संघीय पुनर्संरचनापछि साविकको क्षेत्र नम्बर ३ समेत गाभिएको यस क्षेत्रमा वीरेन्द्रनगरका १४ वटा वडासहित बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिका पर्दछन्। यसपटक कांग्रेसले थानीका विश्वासपात्र एवं पार्टीका पूर्वक्षेत्रीय सभापति नारायण कोइरालालाई मैदानमा उतारेको छ। एमालेबाट जिल्ला अध्यक्ष कुलमणि देवकोटा मुख्य प्रतिस्पर्धीका रूपमा खडा भएका छन्। यी दुवै उम्मेदवार वीरेन्द्रनगरकै बासिन्दा हुन्, जुन ठाउँलाई यो क्षेत्रको हार-जित तय गर्ने ‘निर्णायक’ आधार मानिन्छ।

परम्परागत शक्तिबाहेक यसपटक नयाँ र वैकल्पिक दलहरूले पनि दह्रो उपस्थिति जनाएका छन्। सशस्त्र युद्धकालदेखि राजनीतिमा सक्रिय झकबहादुर मल्ल (सुदीप) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट यातायात व्यवसायी रमेश सापकोटा चुनावी मैदानमा छन्। रास्वपामा प्रवेश गर्नुअघि कांग्रेसको नगर सचिव रहेका सापकोटाले पुराना दलप्रतिको असन्तुष्टिलाई भोटमा बदल्ने रणनीति लिएका छन्। १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा भए पनि मुख्य भिडन्त कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच नै हुने देखिन्छ।

विगतको अंकगणित हेर्दा २०७९ मा कांग्रेसका थानीले करिब ५ हजार मतान्तरले एमालेका अमृत बुढाक्षेत्रीलाई पराजित गरेका थिए। यद्यपि, समानुपातिक मतमा भने २५ हजार मतसहित एमाले पहिलो स्थानमा थियो। यसपटक रास्वपाका उम्मेदवार सापकोटाले कांग्रेसको कति मत काट्छन् भन्ने कुराले नतिजालाई प्रत्यक्ष असर गर्नेछ। यदि सापकोटाले कांग्रेसको परम्परागत मत धेरै प्रभावित पारेमा एमालेलाई लाभ हुने देखिन्छ भने रास्वपाले एमाले र माओवादीको समेत मत तानेमा कांग्रेसलाई आफ्नो विरासत जोगाउन सहज हुने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार