सुर्खेत | सुर्खेतको वीरेन्द्रनगरमा सोमबार राति प्रहरीले एक राउण्ड हवाई फायर गरी लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर–८ को एकान्त क्षेत्रमा लागूऔषधको ठूलो कारोबार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण शाखाको संयुक्त टोली राति १० बजेतिर अपरेशनमा उत्रिएको थियो।

प्रहरी टोलीले चिङ्गाड गाउँपालिका–४ का ४७ वर्षीय ललित चन्दलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। तर, प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा चन्दले उल्टै प्रहरीमाथि हातपात र आक्रमण गरी लागूऔषधसहित भाग्ने प्रयास गरेका थिए। परिस्थिति नियन्त्रणभन्दा बाहिर जान लागेपछि प्रहरीले सुरक्षाका लागि एक राउण्ड हवाई फायर गरी उनलाई समात्न सफल भएको हो।

खानतलासीका क्रममा चन्दको साथबाट ३६ ग्राम ७३० मिलिग्राम शुद्ध ब्राउनसुगर बरामद गरिएको छ, जसलाई सुर्खेतमा भेटिएको ठूलो परिमाणमध्ये एक मानिएको छ। पक्राउ परेका चन्दमाथि लागूऔषध मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। निर्वाचनको सुरक्षा सतर्कता बढिरहेका बेला भएको यो घटनाले सुर्खेतमा लागूऔषधको जालो अझै कति गहिरो छ भन्ने देखाएको छ।