२०८३ वैशाख ६ , आइतबार
सुर्खेतमा निर्वाचन सुरक्षा कडा

१४० मतदानस्थलमा खटिए १ हजार ६२८ जना सुरक्षाकर्मी, कारागारको जिम्मा सेनालाई



सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र भयमुक्त बनाउन सुर्खेतमा सुरक्षा तयारीलाई तीव्र पारिएको छ। निर्वाचनलाई लक्षित गरी सोमबार जिल्लाका १ सय ४० मतदान स्थल र ३ सय २ मतदान केन्द्रहरूमा १ हजार ६ सय २८ निर्वाचन प्रहरी (म्यादी प्रहरी) परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार जिल्लाभर भर्ना भएका १ हजार ८ सय ४० निर्वाचन प्रहरीलाई ३५ वटा प्रहरी युनिट मातहत रहने गरी खटाइएको छ। यी सुरक्षाकर्मीहरूले मतदानको दिन पहिलो सुरक्षा घेरामा रहेर काम गर्नेछन्। सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा नौ सयभन्दा बढी नेपाल प्रहरीको जनशक्ति परिचालन गरिनेछ भने सशस्त्र प्रहरी र नेपाली सेनाले बाहिरी सुरक्षा घेरा सम्हाल्ने गरी यसअघि नै तैनाथ भइसकेका छन्।

गाडीमा चढेर निर्वाचनस्थलतर्फ जाँदै गरेका सुर्खेतका निर्वाचन प्रहरीहरु ।

निर्वाचन अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरू आवश्यक निर्वाचन सामग्रीसहित फागुन १८ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा पुगिसक्ने तयारी छ। हालसम्म जिल्लामा निर्वाचनलाई असर गर्ने कुनै पनि नकारात्मक तत्व वा समूह नदेखिएकाले सुरक्षा चुनौती सामान्य रहेको प्रहरीको विश्लेषण छ। यद्यपि, जिल्ला सुरक्षा समितिले दुवै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरिरहेको र कुनै पनि अवाञ्छित गतिविधि भए तत्काल कारबाही गर्ने गरी विशेष सुरक्षा योजना लागू गरिएको डीएसपी बुढथापाले जानकारी दिनुभयो।

निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन कर्णालीका १० वटै जिल्लाका कारागारहरूको सुरक्षाको जिम्मेवारी भने नेपाली सेनालाई सुम्पिएको छ। प्रहरीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार