सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेतमा सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार यसपटक जिल्लाका दुई निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ४८ हजार ९४३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। आगामी २० फागुनसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकहरूलाई समेटेर तयार पारिएको यो नामावलीमा महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ। जिल्लाभर १ लाख २७ हजार ५४ महिला र १ लाख २१ हजार ८८९ पुरुष मतदाता रहेका छन्।

निर्वाचनलाई व्यवस्थित बनाउन जिल्लाभर १ सय ४० मतदान स्थल र ३ सय २ मतदान केन्द्रहरू तोकिएका छन्। भौगोलिक रूपमा हेर्दा क्षेत्र नम्बर १ मा ७२ मतदान स्थल र १ सय ४८ मतदान केन्द्रहरू रहेका छन्। यो क्षेत्रमा गुर्भाकोट, भेरीगंगा, लेकवेशी, सिम्ता, चिङ्गाड र वीरेन्द्रनगरका दुई वडा (१५ र १६) समेटिएका छन्। उता क्षेत्र नम्बर २ मा ६८ मतदान स्थल र १ सय ५४ मतदान केन्द्रको व्यवस्था गरिएको छ, जहाँ वीरेन्द्रनगरका १ देखि १४ वडासहित बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिका पर्दछन्।
मतदाताको संख्याका आधारमा प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका सबैभन्दा अगाडि छ, जहाँ ७१ हजार ८४० मतदाता रहेका छन्। त्यसैगरी गुर्भाकोटमा ३५ हजार ६९०, भेरीगंगामा ३२ हजार ७९४ र पञ्चपुरीमा २३ हजार २०५ मतदाता रहेका छन्। जिल्लाका अन्य पालिकाहरू लेकवेशी, सिम्ता, बराहताल, चौकुने र चिङ्गाडमा पनि १० हजारदेखि २२ हजारको हाराहारीमा मतदाता रहेका छन्। क्षेत्रगत आधारमा हेर्दा सुर्खेत–१ मा ६० हजार ३९६ र सुर्खेत–२ मा ६१ हजार ४९३ मतदाता रहेका छन्।
यसपटक सुर्खेतका दुई सिटका लागि ३० जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन क्षेत्र नम्बर १ बाट १३ जना र क्षेत्र नम्बर २ बाट १७ जनाले प्रतिस्पर्धा गर्दैछन्। मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा र राप्रपाका उम्मेदवारहरू अहिले विकास र समृद्धिको एजेन्डा लिएर घरदैलोमा व्यस्त छन्। पुराना दलहरूलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरू परम्परागत मत काटेर नयाँ नतिजा निकाल्ने दाउमा देखिएका छन्।
प्रतिक्रिया दिनुहोस्