२०८३ वैशाख ६ , आइतबार
कर्णालीमा कांग्रेसको नयाँ दाउ

१२ मध्ये ११ क्षेत्रमा ‘नयाँ अनुहार’ चुनावी मैदानमा



सुर्खेत । आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले कर्णाली प्रदेशमा व्यापक हेरफेर गर्दै नयाँ अनुहारलाई प्राथमिकता दिएको छ। प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ११ स्थानमा कांग्रेसले नयाँ उम्मेदवार उतारेको हो। दैलेख क्षेत्र नम्बर २ का दिक्पालकुमार शाही मात्र दोहोरिएका उम्मेदवार हुन् भने बाँकी सबै क्षेत्रमा नयाँ पात्रहरूले चुनावी कमान्ड सम्हालेका छन्।

को–को हुन् त नयाँ उम्मेदवार?

कांग्रेसले सुर्खेत–१ मा विष्णुबहादुर खड्का र सुर्खेत–२ मा नारायण कोइरालालाई अघि सारेको छ। त्यस्तै, हुम्लामा जयपति रोकाय, मुगुमा खड्कबहादुर शाही, जुम्लामा दीपबहादुर शाही र कालीकोटमा हर्षबहादुर बम उम्मेदवार छन्। सल्यानमा केशबहादुर विष्ट, रुकुमपश्चिममा राजु केसी, डोल्पामा कर्णबहादुर बुढा र जाजरकोटमा खड्कबहादुर बुढाले मौका पाएका छन्। दैलेख–१ की बासना थापा कर्णालीभरिबाट कांग्रेसको एक्लो महिला उम्मेदवार हुनुहुन्छ।

नयाँ अनुहार नै जितको आधार

पार्टीको नयाँ नेतृत्व आएसँगै कर्णालीमा युवा, बौद्धिक र स्वच्छ छवि भएका उम्मेदवारलाई अवसर दिइएको कांग्रेस प्रचारप्रसार समितिको बुझाइ छ। “अप्रिय गतिविधिमा नमुछिएका र नयाँ भिजन भएका उम्मेदवार भएकाले यसपटक कांग्रेसले आफ्नो पकड अझ बलियो बनाउनेछ,” समितिका संयोजक गोविन्द कोइरालाले दाबी गर्नुभयो। २०७९ को निर्वाचनमा गठबन्धनका कारण ४ सिट मात्र जितेको कांग्रेस यसपटक एक्लै लड्दा र नयाँ अनुहारका कारण सिट संख्या बढ्नेमा ढुक्क देखिएको छ।

एक नजरमा कर्णालीको मतदाता

यसपटक कर्णाली प्रदेशका १० लाख ३७ हजार २५० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। जसका लागि ९४१ मतदान स्थल र १ हजार ४३७ मतदान केन्द्रहरू तोकिएका छन्। २०७९ मा एमाले ‘शून्य’ रहेको कर्णालीमा यसपटक कांग्रेसका नयाँ अनुहारले कति प्रभाव पार्छन्, त्यो भने फागुन २१ को नतिजाले नै देखाउनेछ।

प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार