सुर्खेत । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। यसपटक १३ जना उम्मेदवार चुनावी मैदानमा छन्, जहाँ मुख्य दलका नेताहरू विकास र समृद्धिको एजेन्डासहित घरदैलोमा व्यस्त छन्। यस क्षेत्रको रोचक पक्ष के छ भने, लामो समयसम्म कांग्रेस नेता पूर्णबहादुर खड्काको वर्चस्व रहेको यहाँ यसपटक नयाँ राजनीतिक समीकरण र पात्रहरू देखिएका छन्।
शाही र खड्काबीचको विरासतको लडाइँ नेकपा एमालेबाट ध्रुवकुमार शाही पुन: मैदानमा छन्। शाही तिनै नेता हुन्, जसले २०७४ मा कांग्रेसका हेभीवेट नेता पूर्णबहादुर खड्काको अपराजित यात्रालाई पूर्णविराम लगाएका थिए। यद्यपि, २०७० मा भने खड्काले शाहीलाई पराजित गरेका थिए। यसपटक पूर्णबहादुर मैदानमा नभएपछि शाहीको प्रतिस्पर्धा खड्काका भाइ विष्णुबहादुर खड्कासँग हुनेछ। शाही सुस्त विकासलाई गति दिने दाबी गरिरहेका छन् भने कांग्रेस उम्मेदवार खड्का पुरानै योजनाको निरन्तरता र नयाँ सम्भावनाको खोजीमा मत मागिरहेका छन्।
तेस्रो शक्तिको खोजीमा नेकपा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पूर्व लडाकु जीतबहादुर राना पहिलोपटक प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। विगतका दुई चुनावमा पालैपालो कांग्रेस र एमालेलाई जिताउन खटिएका राना यसपटक आफैँ मैदानमा उत्रिएर नागरिकको जीवनस्तर सुधार्ने नारा अघि सारेका छन्। प्रदेश राजधानी भएर पनि सुर्खेतका कतिपय ठाउँमा पुग्न अर्को जिल्ला घुम्नुपर्ने बाध्यता अन्त्य गर्ने र उद्यमशील शिक्षा लागू गर्ने उनको मुख्य एजेन्डा छ।
रास्वपा र राप्रपाको चुनौती कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका ५४ वर्षीय टेकबहादुर सिंह यसपटकको निर्वाचनमा ‘सरप्राइज’ दिने दाउमा छन्। लामो समय पूर्णबहादुर खड्काकै चुनावी कमान्डर बनेका सिंहले नेताहरूमा देखिएको ‘पारिवारिक विरासत’ (दाजु पछि भाइ) को मोहप्रति आक्रोश व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध र किसानका मुद्दा लिएर मैदानमा आएको बताएका छन्।
त्यस्तै, राप्रपाले २८ वर्षीय युवा नेता रवि हमाल ठकुरी ‘किरण’ लाई उठाएको छ। राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका हमाल कुशासन र बेथितिविरुद्ध युवा शक्तिको प्रतिनिधित्व गर्दै विकास र समृद्धिको सपना बाँडिरहेका छन्।
पाँचपटक कांग्रेस र दुईपटक एमालेले जितेको यो क्षेत्रमा यसपटक नयाँ अनुहारहरूको उदयले चुनावी नतिजा कता जान्छ भन्ने आकलन गर्न कठिन छ। एकातिर पुरानो विरासत जोगाउने दबाब छ भने अर्कोतिर नयाँ दलहरू स्थापित हुने दाउमा छन्।
प्रतिक्रिया दिनुहोस्