२०८३ वैशाख ६ , आइतबार
कर्णालीमा चुनावी सरगर्मी

कांग्रेस र एमालेबीच कडा टक्कर



सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले कर्णाली प्रदेशमा राजनीतिक दलहरूको वास्तविक शक्ति परीक्षण गर्दैछ। अघिल्लो निर्वाचनमा गठबन्धनमार्फत जित निकालेका दलहरूलाई यसपटक आफ्नो विरासत जोगाउन सकस देखिएको छ भने नेकपा एमाले गुमेको साख फर्काउने अन्तिम कसरतमा जुटेको छ। २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनले कर्णालीमा वर्चस्व जमाए पनि २०७९ सम्म आइपुग्दा समीकरण फेरिएको थियो। तत्कालीन समयमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले एमालेलाई ‘नतिजाविहीन’ बनाउँदै १२ मध्ये ११ सिटमा जित हासिल गरेको थियो भने जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले बाजी मारेको थियो।

तर, यसपटकको परिस्थिति निकै फरक र रोचक बनेको छ। विशेषगरी एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि चुनावी मैदानमा नयाँ ध्रुवीकरण देखिएको छ। नेपाली कांग्रेसलाई यसपटक आफ्नै पुराना किल्ला जोगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ठूलो चुनौती आइलागेको छ। सुर्खेत क्षेत्र नम्बर १ र २ जस्ता कांग्रेसका बलिया क्षेत्रमा रास्वपाले कांग्रेसकै पूर्वनेताहरूलाई उम्मेदवार बनाएकाले नतिजा आफ्नो पक्षमा पार्न कांग्रेसलाई निकै मेहनत गर्नुपर्ने देखिन्छ।

उता, नवगठित नेकपाभित्र पनि आन्तरिक प्रतिस्पर्धा उत्तिकै तीव्र छ। कालिकोट र रुकुम पश्चिममा नेकपाका उम्मेदवारहरूलाई आफ्नै पूर्वसहयात्री खड्गबहादुर विश्वकर्मा र जनार्दन शर्माजस्ता प्रभावशाली नेताहरूले चुनौती दिएका छन्। जुम्लामा पनि राप्रपाका ज्ञानेन्द्र शाहीलाई रास्वपाकी विनिता कठायत र प्रलोपका मनऋषि धितालले कडा टक्कर दिइरहेका छन्। २०७९ को समानुपातिक मत परिणामलाई आधार मान्दा कर्णालीमा एमाले अहिले पनि पहिलो शक्ति हो, जसले १ लाख ८३ हजार भन्दा बढी मत पाएको थियो। कांग्रेस र नेकपा (माओवादी+एस) को मत पनि एमालेकै हाराहारीमा रहेकाले यसपटकको प्रतिस्पर्धा त्रिपक्षीय हुने निश्चित छ।

यसपटक दलहरू एक्ला-एक्लै चुनावी मैदानमा उत्रिएका छन्। पुराना र स्थापित दलहरूको मत रास्वपा, प्रलोप र स्वतन्त्र उम्मेदवारहरूले काट्ने देखिएकाले कर्णालीको समग्र नतिजा कता जान्छ भनेर आकलन गर्न कठिन छ। कांग्रेस र नेकपालाई आफ्नो पुरानो विरासत टिकाउनु पर्ने दबाब छ भने एमाले अघिल्लो पटकको समानुपातिक मतलाई प्रत्यक्ष जितमा बदल्दै पुनः शक्तिमा फर्किने दाउमा छ। मतदाताको मनोविज्ञान र बदलिँदो राजनीतिक समीकरणले कर्णालीको चुनावी परिणामलाई निकै अर्थपूर्ण बनाउने देखिन्छ।

प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार