सुर्खेत | फागुन २१ को निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन कर्णालीमा सुरक्षाको ‘फलामे घेरा’ तयार पारिएको छ। ‘एकीकृत सुरक्षा योजना–२०८२’ अन्तर्गत नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) ले सुर्खेतसहित कर्णालीका १० वटै जिल्लामा आफ्नो सक्रियता बढाएको हो।
कर्णाली प्रदेशकाे राजधानीसमेत रहेकाे सुर्खेतकाे वीरेन्द्रनगरका मुख्य चोक र गल्लीहरूमा प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद कँडेलको कमाण्डमा निस्किए छ । विशेष टोलीले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गस्ती गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहका अनुसार अहिले प्रहरीले केवल सडकमा मात्र होइन, सिसिटिभी क्यामरा र सामाजिक सञ्जालमार्फत पनि ‘डिजिटल निगरानी’ सुरु गरेको छ। कसैले सामाजिक सद्भाव भड्काउन खोजे वा निर्वाचन बिथोल्ने प्रयास गरे तुरुन्तै एक्सन लिने प्रहरीको तयारी छ।

सुरक्षा रणनीति यति कडा पारिएको छ कि, अब प्रहरीले होटल र लजहरूमा ‘डग स्नीफिङ’ (कुकुर प्रयोग गरेर गरिने जाँच) समेत सुरु गरिसकेको छ। सीमा क्षेत्रमा हुने घुसपैठ रोक्न र ‘जेनजी’ आन्दोलनका बेला हराएका हातहतियार बरामद गर्न प्रहरीको टोली चौबीसै घण्टा ‘हाइ अलर्ट’ मा छ। एसएसपी शाहका अनुसार सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्तीले अब कर्णालीका संवेदनशील ठाउँहरूमा कुनै पनि बेला ‘सरप्राइज चेकिङ’ गर्नेछ।

उम्मेदवारदेखि मतदातासम्म, र संचारकर्मीदेखि निर्वाचन पर्यवेक्षकसम्म सबैको सुरक्षाको जिम्मा अब सुरक्षा संयन्त्रले आफ्नो काँधमा लिएको छ। “जनताले ढुक्क भएर भोट हाल्ने वातावरण बनाउन हामीले कुनै कसर बाँकी राखेका छैनौँ,” प्रहरीको यो सन्देशले अब कर्णालीमा चुनावी सुरक्षा निकै मजबुत रहेको प्रष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्