सुर्खेत । फागुन २१ को चुनावी रापतापले यतिबेला सुर्खेत-१ को भेरीगंगा, छिन्चुलाई निकै गर्माएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभाका उम्मेदवार रवि किरण हमालले बिहीबार छिन्चुमा एउटा भव्य शक्ति प्रदर्शन गरेका छन्, जहाँ स्थानीय युवा र सर्वसाधारणको उत्साहजनक उपस्थिति देखियो।
कार्यक्रममा विशेष आकर्षण बनेका थिए राप्रपा प्रवक्ता तथा जुम्ली सांसद ज्ञानेन्द्र शाही। सभालाई सम्बोधन गर्दै शाहीले रवि किरण र आफ्नो जोडी जम्ने दाबी गरे। उनले भने, “हाम्रो जोडी मिल्यो भने संसदमाकर्णालीका मुद्दा अझ सशक्त रूपमा उठ्नेछन्। अब परिवर्तनका लागि युवा नेतृत्वको विकल्प छैन, त्यसैले यसपटक सुर्खेत-१ ले हलोमा भोट हाल्नुपर्छ।”

उम्मेदवार रवि किरण हमालले पनि शाहीको कुरामा होस्टेमा हैँसे गर्दै कर्णालीको विकास, सुशासन र पहिचानका लागि आफू मर्न तयार रहेको बताए। उनले भने, “म जनताको शिर कहिल्यै निहुरिन दिने छैन, धर्म-संस्कृति र सुशासनका लागि मेरो लडाइँ जारी रहनेछ।” जनताको भरोसा नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै उनले यसपटक ‘हलो’ चिह्नमा मतदान गर्न आग्रह गरे।
छिन्चुको यो सभामा देखिएको भीड र उत्साहले सुर्खेत-१ को चुनावी अंकगणित अब झन् रोचक बन्ने स्थानीयले लख काटेका छन्। परम्परागत शक्तिहरूलाई चुनौती दिँदै राप्रपाले यसपटक कर्णालीमा आफ्नो बलियो उपस्थिति देखाउने संकेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्