सुर्खेत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको नयाँ पात्रो प्रकाशित गरेको छ, जसले आगामी वर्षका चाडपर्व र शुभसाइतहरूको टुङ्गो लगाएको छ। नयाँ पात्रोअनुसार वर्षको सुरुवातमै वैशाख ४ गते मातातीर्थ स्नान र १८ गते गौतम बुद्ध जयन्ती मनाइनेछ। साउन १३ गते गुरुपूर्णिमा परेको छ भने भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी र २९ गते चेलीबेटीहरूको महान् पर्व हरितालिका तीज परेको छ।

सबैले प्रतीक्षा गर्ने वर्षकै ठूलो पर्व दशैं यसपटक असोज २५ गते आइतबार घटस्थापनासँगै सुरु हुनेछ। दशैंको मुख्य दिन अर्थात् विजयादशमी (टीका) कात्तिक ४ गते बुधबार परेको छ। दशैं सकिएलगत्तै तिहारको रौनक सुरु हुनेछ, जसमा कात्तिक २० गते शुक्रबारदेखि तिहार सुरु भएर २५ गते बुधबार भाइटीका लगाइनेछ। तिहार लगत्तै कात्तिक २९ गते आइतबार छठ पर्व मनाइने पात्रोमा उल्लेख छ।
वर्षको उत्तरार्धमा माघ २४ गते सोनाम ल्होसार र २८ गते वसन्त पञ्चमी परेका छन्। फागुन २२ गते महाशिवरात्रि र २५ गते ग्याल्पो ल्होसार मनाइनेछ। वर्षको अन्त्यतिर चैत ७ गते पहाडी भेगमा र ८ गते तराईमा होली खेलेर २०८३ सालको बिदाइ गरिनेछ। यसरी हेर्दा आगामी वर्ष पनि चाडपर्वहरूले वर्षभरि नै उत्साह र उमङ्ग ल्याउने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्