सुर्खेत | फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कर्णालीका गाउँ-सहरमा चुनावी प्रचारले तताएको छ। नेताहरू चिल्ला गाडी र झण्डा बोकेर भोट माग्न गाउँ पसेका छन्, तर विडम्बना! गाउँमा भोट दिने युवाहरू नै छैनन्। सुर्खेतको चौकुने गाउँपालिका पुग्दा चुनावी चहलपहल त देखिन्छ, तर त्यहाँका घरहरूमा केवल महिला, बालबालिका र वृद्धवृद्धाहरू मात्र भेटिन्छन्।

चौकुने–५ का लोकेन्द्र सिंहराज थापाका अनुसार गाउँमा युवाहरूको उपस्थिति शून्य जस्तै छ। “खेतीपाती र चाडपर्वमा झुल्किने युवाहरू अरू बेला पेट पाल्नकै लागि भारततिर लाग्छन्,” उनी भन्छन्। चुनावी रौनक बढे पनि गाउँमै रोजगारीको वातावरण नहुँदा युवा मतदाताहरू मुग्लान भासिनु परेको पीडा उनले सुनाए। अर्की स्थानीय सीतादेवी नेपालीको बुझाइमा पनि राजनीतिभन्दा जीविकोपार्जन ठूलो कुरा हो। जीविका चलाउने कुनै उपाय नभएपछि युवाहरू राजनीति र चुनावको वास्ता नगरी विदेशिन बाध्य भएका हुन्।
सुर्खेत मात्र होइन, पूरै कर्णालीको अवस्था यस्तै छ। चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बाँस्तोला सरकारले स्वरोजगारका कार्यक्रम ल्याए पनि युवाहरूलाई गाउँमा टिकाइराख्न चुनौतीपूर्ण रहेको स्वीकार गर्छन्। अचेल भारत मात्र होइन, खाडी मुलुक जाने युवाहरूको संख्या पनि उत्तिकै बढेको छ।
गाउँका भित्ताभरि चुनावका पोस्टर त टाँसिएका छन्, तर ती पोस्टर हेर्ने र देश बनाउने सपना बुन्ने युवाहरू भने पराई भूमिमा पसिना बगाइरहेका छन्। नेताहरूले गाउँमै रोजगारीको ग्यारेन्टी नगरेसम्म कर्णालीका चुनावहरू केवल ‘बुढाबुढी र महिला’ को मतमा मात्र सीमित हुने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्