सुर्खेत | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा तयारीले तीव्रता पाएको छ। निर्वाचन आयोगले कर्णाली प्रदेशका १० वटै जिल्लाका १२ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सकेर ढुवानीको काम सुरु गरेको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालिएको हो। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा धमाधम मतपत्र छपाइ भइरहेको छ। कर्णालीका हिमाली र पहाडी जिल्लाहरूमा समयमै मतपत्र पुर्याउनुपर्ने भएकाले आयोगले यस क्षेत्रलाई प्राथमिकतामा राखेर ढुवानी गरिरहेको छ।

अहिले प्रत्यक्षतर्फको मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ भने समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र माघ १३ गते नै छपाइ र प्याकिङ सकेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। आयोगले पहिले नै करिब ११ लाख नमूना मतपत्र छापेर मतदाता शिक्षाका लागि जिल्ला-जिल्लामा पठाइसकेको छ।
कर्णालीका दुर्गम बस्तीहरूमा मतपत्र पुग्न थालेसँगै अब गाउँ-गाउँमा चुनावी रौनक अझै बढ्ने देखिएको छ। निर्वाचन नजिकिँदै गर्दा आयोगले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छाप्ने र प्याकिङ गर्ने कामलाई तीव्र बनाएको छ। कर्णालीका १२ वटै सिटमा कसले बाजी मार्ला भन्ने चर्चा चलिरहँदा आयोगले भने आफ्नो प्राविधिक तयारीलाई अन्तिम रूप दिँदै छ।
प्रतिक्रिया दिनुहोस्