२०८३ वैशाख ६ , आइतबार
स्थानीय तहकाे कार्य सम्पादन मूल्याङ्कन

वीरेन्द्रनगरको बिजाेग : ५१.८६ अङ्क ल्याएर धाै-धाैले पास



सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा लजास्पद नतिजा ल्याएकाे छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको गरेकाे कार्यसम्पादन मूल्यांकन वीरेन्द्रनगरले कुल १०० अङ्क मध्ये मात्र ५१.८६ अङ्क प्राप्त ल्याएर धाै-धाैले पास भएकाे हाे । सुर्खेतकै गुर्भाकोट नगरपालिकाले ७३.९२ अङ्क ल्याउँदा वीरेन्द्रनगर अवस्था लाजमर्दाे देखिएकाे छ ।

आयोगले विहीबार सार्वजनिक गरेकाे आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकन अनुसार वीरेन्द्रनगरले बजेट कार्यान्वयन र पारदर्शितामा गम्भीर  गल्ती गरेकाे छ ।  वीरेन्द्रनगरले असार १० भित्र बजेट पेस गर्ने र असार मसान्तभित्र पारित गर्ने जस्ता प्रक्रियागत कार्यमा ५-५ अङ्क प्राप्त गरे पनि बजेट कार्यान्वयनको अवस्था भने निकै कमजोर देखिएको छ । जसमा नगरपालिकाले शून्य (०) अङ्क पाएको छ ।

त्यस्तै, आय-व्ययको प्रक्षेपण विवरण अर्थ मन्त्रालयमा पठाउन र वार्षिक बजेटको समीक्षा सार्वजनिक गर्न असफल हुँदा यी क्षेत्रमा पनि नगरपालिकाले कुनै अङ्क पाउन सकेकाे छैन ।

बेरुजु र योजना तर्जुमाको अवस्था आर्थिक पारदर्शिताको प्रमुख मापन मानिने बेरुजुको अवस्थामा वीरेन्द्रनगरले शून्य (०) अङ्क प्राप्त गरेको छ। यसले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षणमा बेरुजुको मात्रा उच्च रहेको वा फर्स्योटको अवस्था कमजोर रहेको सङ्केत गर्दछ। साथै, आवधिक योजना तर्जुमा गर्ने  कार्यमा पनि नगरपालिकाले शून्य अङ्क नै पाएको छ।

शिक्षाको नतिजा चिन्ताजनक शिक्षा क्षेत्रको मूल्याङ्कनमा वीरेन्द्रनगरको अवस्था निकै कमजोर देखिएको छ । विशेषगरी कक्षा १० को परीक्षा नतिजामा नगरपालिकाले मात्र ०.०३३६ अङ्क प्राप्त गरेको छ। यो अङ्कले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र १.६ वा सोभन्दा माथिको GPA ल्याउने विद्यार्थीहरूको संख्या अत्यन्तै न्यून रहेको देखाउँछ  विद्यार्थी टिकाउ दरमा पनि नगरपालिकाले १ अङ्क पनि कटाउन नसकी मात्र ०.८२२ अङ्क पाएको छ।

स्वास्थ्य क्षेत्रमा केही राहत अन्य क्षेत्रको तुलनामा वीरेन्द्रनगरको स्वास्थ्य तर्फको नतिजा केही राम्रो देखिएको छ । चार पटक गर्भ जाँच गराउने महिलाको अनुपात, संस्थागत सुत्केरी दर र पूर्ण खोप पाउने बालबालिकाको अनुपातमा नगरपालिकाले ३-३ अङ्क प्राप्त गरेको छ । यद्यपि, यी क्षेत्रमा पनि सुधारको प्रशस्त ठाउँ देखिन्छ ।

राजस्व र प्रविधिको प्रयोग नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालनमा भने १३ अङ्क प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । त्यस्तै, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SUTRA) को प्रयोगमा ५ अङ्क र विद्युतीय अनलाइन पोर्टलमा विवरण प्रविष्टि गर्ने कार्यमा ६ अङ्क प्राप्त गरेको छ ।

समग्रमा, प्रदेशको राजधानी शहर भए पनि वीरेन्द्रनगरले शिक्षाको गुणस्तर सुधार, बेरुजु फर्स्योट, र बजेट कार्यान्वयनको पारदर्शितामा विशेष ध्यान दिनुपर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकाे तथ्याङ्कले औँल्याएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार