सुर्खेत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा रूकुमपश्चिमकाे चाैरजहारी नगरपालिका कर्णाली प्रदेशकै उत्कष्ट भएकाे छ । आयोगले विहीबार सार्वजनिक गरेकाे आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार कर्णालीका ६९ स्थानीय तहमध्ये चाैरजहार प्रदेशका अग्रभागमा देखिएकाे हाे । दश जिल्लामध्ये पनि रुकुम पश्चिम र सल्यानको प्रदर्शन उत्साहजनक प्रगति हाँसिल गरेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक योजना तर्जुमा, बजेट कार्यान्वयनको अवस्था, शिक्षा, स्वास्थ्य र सेवा प्रवाह लगायतका विभिन्न १७ वटा सूचाअंकका आधारमा स्थानीय तहहरूलाई अङ्क प्रदान गर्ने गर्द छ ।
जसमध्ये रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अङ्क प्राप्त गर्दै कर्णालीकै प्रथम भएकाे हाे । प्रतिवेदन अनुसार जिल्लाको त्रिवेणी गाउँपालिकाले ७४.९० र मुसिकोट नगरपालिकाले ६७.२२ अङ्क ल्याएका छन् । सल्यान जिल्लामा छत्रेश्वरी गाउँपालिका ७२.२५ अङ्कका साथ अगाडि देखिएको छ भने कालीमाटी गाउँपालिकाले ६६.७१ अङ्क प्राप्त गरेको छ।

जाजरकोट र सुर्खेतको अवस्था जाजरकोटको भेरीमालिका नगरपालिकाले ७६.९६ अङ्क प्राप्त गरी जिल्लाभरमै राम्रो नतिजा निकालेको छ भने बारेकोट र नलगाड गाउँपालिकाले क्रमशः ६६.१७ र ६६.४८ अङ्क प्राप्त गरेका छन्। प्रदेश राजधानी रहेको जिल्ला सुर्खेतमा गुर्भाकोट नगरपालिका ७३.९२ अङ्कका साथ पहिलो स्थानमा छ । वीरेन्द्रनगर नगरपालिकाले भने ५१.८६ अङ्क मात्र प्राप्त गरेको देखिन्छ।
हिमाली जिल्लाहरूको मूल्याङ्कन हिमाली जिल्ला डोल्पामा शे-फोक्सुण्डो गाउँपालिकाले ७३.०५ अङ्क र डोल्पो बुद्धले ७१.८६ अङ्क प्राप्त गरी राम्रो सुधार देखाएका छन् हुम्लामा खार्पुनाथ गाउँपालिका ७१.६९ अङ्कका साथ अगाडि छ भने अदानचुली गाउँपालिका ४७.७६ अङ्कमा सीमित भएको छ । मुगुमा छायाँनाथ रारा नगरपालिकाले ६४.५५ अङ्क ल्याएको छ भने सोरु गाउँपालिकाको नतिजा ४३.१९ अङ्क मात्र छ। जुम्लामा हिमा गाउँपालिकाले ६४.०२ अङ्क प्राप्त गर्दा पातारासी गाउँपालिका ४४.१६ अङ्कका साथ पछाडि परेको छ।
कालीकोट र दैलेखमा सुधारको खाँचो कालीकोटमा पचाल झरना गाउँपालिकाले ६५.०५ अङ्क प्राप्त गरेको छ भने सान्नी त्रिवेणी गाउँपालिका ४१.६९ अङ्कका साथ कमजोर देखिएको छ । दैलेख जिल्लामा डुङ्गेश्वर गाउँपालिका ६३.१४ अङ्कका साथ अगाडि रहे पनि भैरवी गाउँपालिकाले ३९.७९ अङ्क मात्र प्राप्त गरी समग्र कर्णाली क्षेत्रमै कमजोर प्रदर्शन गरेको छ ।
मूल्याङ्कनका प्रमुख आधारहरू यो मूल्याङ्कनका लागि स्थानीय तहले समयमै बजेट पेस गरे/नगरेको, राजस्व बाँडफाँडको अवस्था, बेरुजुको स्थिति, कक्षा ८ र १० को शैक्षिक नतिजा, संस्थागत सुत्केरी दर र बालबालिकाको पूर्ण खोप जस्ता १७ वटा सूचकहरूलाई मुख्य आधार बनाइएको थियो । कतिपय स्थानीय तहहरूले विद्युतीय अनलाइन पोर्टलमा विवरण प्रविष्टि नगर्दा र बजेटको वार्षिक समीक्षा सार्वजनिक नगर्दा अङ्क गुमाएको स्रोतको तथ्याङ्कले देखाउँछ ।
प्रतिक्रिया दिनुहोस्