दैलेख | दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा एक १६ वर्षीय किशोरको चक्कु प्रहार गरी निर्मम हत्या गरिएको छ। फुटबल खेलेर उत्साहका साथ घर फर्किँदै गरेका स्थानीय प्रकाश खनालको चक्कु प्रहारबाट ज्यान गएको हो।
दुल्लू अस्पतालनजिकै भएको यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–१०, गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, तीनै जनाबीच सामान्य विवाद भएपछि घटनाले उग्र रूप लिएको थियो। विवादकै क्रममा मुकुन्द र विभूषणले प्रकाशमाथि चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका प्रकाशलाई उपचारका लागि तुरुन्तै दुल्लू अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। घटनापछि फरार भएका दुवै आरोपीलाई प्रहरीले सक्रियताका साथ खोजी गर्दै घटनास्थलबाट करिब १० किलोमिटर टाढा चामुण्डाको जङ्गलमा लुकिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
फुटबल मैदानबाट हाँस्दै-खेल्दै घर फर्किँदै गरेका एक कलिलो किशोरको यसरी हत्या भएपछि अहिले दुल्लू क्षेत्र शोकमा डुबेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्