२०८३ वैशाख ६ , आइतबार
दैलेखमा 'ग्यास' को विशाल खानी

८० अर्ब घनमिटर भण्डारण पुष्टि, नेपाललाई ५० वर्ष पुग्ने



सुर्खेत | दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा विशाल प्राकृतिक ग्यासको भण्डारण रहेको तथ्य आधिकारिक रूपमै पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ ले नेपाल सरकारलाई बुझाएको अन्तिम प्रतिवेदनअनुसार जलजलेको जमिनमुनि ८० अर्ब ७० करोड घनमिटर ग्यास लुकेर बसेको पाइएको हो। यो परिमाण सुरुमा अनुमान गरिएको १ अर्ब १२ करोड घनमिटरभन्दा कैयौँ गुणा बढी हो।

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीले लामो समय लगाएर गरेको सेस्मिक, जियोलोजिकल र जियोकेमिकल सर्वेपछि यो सुखद नतिजा निस्किएको हो। भण्डारणको आकार विशाल देखिए पनि अब ‘वेल टेस्टिङ’ मार्फत व्यावसायिक रूपमा कति ग्यास बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि प्रयोग गर्ने भन्नेबारे अन्तिम टुङ्गो लाग्न बाँकी छ।

उत्खननको चुनौती र प्रविधि

विज्ञहरूका अनुसार दैलेखमा भेटिएको यो ग्यास अमेरिकामा निकालिने ‘शेल वा टाइट ग्यास’ प्रकृतिको हो। यो ग्यास चट्टानका पत्रहरूमा च्यापिएर रहने हुनाले यसलाई निकाल्न सामान्यभन्दा अलि कठिन र विशेष प्रविधिको आवश्यकता पर्दछ। अबको चरणमा ड्रिल गरिएको ठाउँमा चट्टान फुटाउने र ग्यासलाई बाहिर निकाल्ने प्रक्रिया सुरु हुनेछ।

नेपाल र चीन सरकारबीच २ अर्ब ४० करोडको सहयोगमा सुरु भएको यो अन्वेषणले दैलेखका ऐतिहासिक ज्वाला बल्ने क्षेत्रहरू (श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर) लाई आधार मानेको थियो। परापूर्वकालदेखि दैलेखमा बल्दै आएको ज्वालाको रहस्य अब व्यावसायिक उत्पादनको दिशामा मोडिएको छ।

चुनावी एजेन्डामा ‘ग्यास’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि दैलेखका राजनीतिक दलहरूले यो ग्यास उत्खननलाई नै आफ्नो मुख्य ‘ब्रह्मास्त्र’ बनाएका छन्। मतदाता रिझाउन उम्मेदवारहरूले दैलेखको ग्यासबाट देशै धनी बनाउने सपना बाँडिरहेका छन्। यदि यो परियोजना सफल भएमा कर्णाली प्रदेश मात्र नभई समग्र नेपालकै ऊर्जा संकट र अर्थतन्त्रमा एउटा ऐतिहासिक क्रान्ति आउने निश्चित छ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार