२०८३ वैशाख ६ , आइतबार
कर्णालीको चुनावी महाभारत

‘सहयोद्धा’ नै आमनेसामने, कहाँ कोसँग छ टक्कर?



सुर्खेत | आगामी फागुन २१ को निर्वाचन कर्णालीका लागि केवल सत्ताको लडाइँ मात्र होइन, बरु वर्षौँसम्म एउटै ओछ्यान र भान्छा साझा गरेका ‘पूर्वसहकर्मी’ हरूबीचको प्रतिष्ठाको लडाइँ पनि बनेको छ। कर्णालीका १२ मध्ये ९ निर्वाचन क्षेत्रमा हिजोका मित्रहरू आज एकअर्कालाई हराउने ‘शत्रु’ का रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

१. सुर्खेत: कांग्रेसभित्रकै ‘भाइ-भैया’ को टक्कर

सुर्खेत-१ मा कांग्रेसका दिग्गज नेता पूर्णबहादुर खड्का यसपटक मैदानबाहिर रहँदा उनका भाइ विष्णुबहादुर खड्का र कांग्रेसकै पूर्वनेता (हाल रास्वपा) टेकबहादुर सिंह बीच रोचक भिडन्त हुँदैछ। उता सुर्खेत-२ मा पनि कांग्रेसका पूर्वसहकर्मीद्वय रमेश सापकोटा (रास्वपा) र नारायण कोइराला (कांग्रेस) आमनेसामने छन्। एमाले भने आफ्ना सुरक्षित मत जोगाउँदै यी दुईको लडाइँमा बाजी मार्ने दाउमा छ।

. दैलेख: एमालेका पूर्वमित्रहरूको लडाइ

दैलेखका दुवै क्षेत्रमा एमालेका पूर्वसहकर्मीहरू विभाजित भएका छन्। क्षेत्र नं. १ मा एमालेका रवीन्द्रराज शर्मालाई उनकै पुराना साथी अमरबहादुर थापा (नेकपा) र एमाले छाडेर रास्वपा गएका नन्दकिशोर बस्नेतले चुनौती दिइरहेका छन्। क्षेत्र नं. २ मा पनि एमालेका लक्ष्मीप्रसाद पोखरेललाई हिजोकै सहकर्मी योगेन्द्रबहादुर शाही (नेकपा) ले अप्ठेरोमा पार्न खोज्दैछन्।

३. रुकुम पश्चिम र कालीकोट: माओवादीको गढमा ‘विद्रोह’ रुकुम पश्चिममा सबैभन्दा रोचक ‘गुरु-चेला’ को भिडन्त छ। निरन्तर जित्दै आएका जनार्दन शर्मालाई उनकै पूर्वस्वकीय सचिव र मन्त्री बनाइएका गोपाल शर्माले चुनौती दिएका छन्। उता कालीकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई माओवादीकै पूर्वशक्तिशाली नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले लामो समयपछि चुनावी मैदानमा आएर चुनौती दिएका छन्।

४. डोल्पा: सहोदर दाजुभाइको भिडन्त

डोल्पामा भने राजनीति नाताभित्रै पसेको छ। कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बुढा र उनका सहोदर भाइ धनबहादुर बुढा (नेकपा) बीच चुनावी लडाइँ हुँदैछ। दाजुभाइको यो लडाइँको फाइदा उठाउन एमालेका लंकबहादुर रोकाया दाउ कुरेर बसेका छन्।

५. जुम्ला, मुगु र अन्य: जुम्लामा जनयुद्धका सहयोद्धा नरेश भण्डारी र मनऋषि धिताल भिड्दैछन् भने मुगुमा एमालेका पूर्ण रोकाया र चन्द्रबहादुर  शाही (नेकपा) बीच टक्कर छ।

हिजो एउटै झण्डामुनि गोलबन्द भएका यी नेताहरूको आपसी टक्करले गर्दा कर्णालीको चुनावी परिणाम कसको पक्षमा जान्छ भन्ने कुरा निकै रहस्यमय बनेको छ। कार्यकर्ताहरूलाई भने कसको झण्डा बोक्ने र कसलाई भोट हाल्ने भन्ने कुराले धर्मसंकटमा पारेको छ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार