२०८३ साउन १२ , मंगलबार
सुर्खेत आउँदै गरेको बसमा भीषण आगलागी

४४ यात्रुको ज्यान जोगियो, बस खरानी



सुर्खेत | काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस बिहीबार बिहान हुलाकी सडक खण्डमा भयानक दुर्घटनाबाट जोगिएको छ। शुद्धोधन गाउँपालिका–६ टिटिहिरिया (तौलिहवा–भैरहवा सडक) मा गुडिरहेको अवस्थामा बसमा अचानक आगलागी हुँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।

बिहान करिब ४ बजेतिर बसको बायाँ चक्काबाट सुरु भएको आगोले हेर्दाहेर्दै विकराल रूप लिएको थियो। चक्कामा आगो देखिनेबित्तिकै चालकले बसलाई सडक किनारमा रोकेर सबै यात्रुलाई ओराल्न सफल भएकाले ठूलो मानवीय क्षति हुन पाएन। बसमा सवार ४४ जना यात्रुहरू सबै सकुशल रहे पनि उनीहरूका केही महत्त्वपूर्ण जिन्सी सामानहरू भने आगोले खाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार स्थानीय बासिन्दा, प्रहरी र कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरेका थिए। तर, आगो यति तीव्र थियो कि आधा घण्टाभित्रै बस कङ्कालमा परिणत भयो।

आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन, तर गुडिरहेको बसको चक्काबाट आगो सल्किएकोले प्राविधिक गडबडी हुन सक्ने अनुमान गरिएको छ। अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। ज्यान जोगाउन सफल भए पनि आफ्ना सामानहरू सखाप हुँदा सुर्खेत आउँदै गरेका यात्रुहरू भने मर्माहत भएका छन्।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार