२०८३ वैशाख ६ , आइतबार
कर्णालीमा रास्वपाको रापताप

ठूला दललाई त्रास, सानालाई हाइसन्चो



सुर्खेत । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनलाई लिएर अनेकन अड्कनबाजी सुरु भएका छन् ।
‘जेन–जी’ आन्दोलनको रापतापपछि निर्धारित समयभन्दा दुई वर्षअघि नै हुन लागेको यो निर्वाचनले कर्णालीमा राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।
रास्वपाले यसपालि सुर्खेतमा टेकबहादुर सिंह र रमेशकुमार सापकोटा, दैलेखमा नन्दकिशोर बस्नेत र बखतबहादुर शाही, जाजरकोटमा राघव कार्की, रुकुम पश्चिममा मानबहादुर शाही, सल्यानमा ललितकुमार चन्द, डोल्पामा देवसिंह ऐडी, मुगुमा भुवन टमटा, जुम्लामा विनिता कठायत, कालीकोटमा प्रकाश न्यौपाने र हुम्लामा टासी ल्हान्जोम यसपटक ‘घन्टी’ बजाउँदै मतदाताको घरदैलोमा पुगेका छन् ।


२०७९ को निर्वाचनमा कर्णालीबाट प्रत्यक्षतर्फ जम्मा १० हजार ५८८ र समानुपातिकमा २२ हजार २७१ मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक भने आक्रामक रणनीति अपनाएको छ । अघिल्लो पटक धेरै जिल्लामा एक हजार मत पनि कटाउन मुस्किल परेको रास्वपाले अहिले कर्णालीका १२ वटै क्षेत्रमा आफ्ना उम्मेदवारहरूलाई मैदानमा उतारेको छ ।
जसका कारण यसअघिका निर्वाचनमा मुख्यदलहरु नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन माओवादी (नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को दबदबा रहेको कर्णालीमा यसपालि रास्वपाले तरंङ्ग ल्याएको छ । रास्वपाले विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेलाई घाटा पुग्ने विश्लेषण गरिएको छ । कांग्रेस र एमालेकै पकड रहेको स्थानमा रास्वपाले मत काट्दा यी दुई दल त्रासमा छन् । विशेषगरी कांग्रेस र एमालेका राम्रो प्रभाव रहेको सुर्खेत र दैलेख हो । जहाँ ४ सिट छन् । दैलेख र सुर्खेतमा नेकपाको प्रभाव कमजोर छ । यसका कारण नेकपालाई भने त्यति त्रास छैन । अन्य जिल्लाहरुमा भने सबै दललाई उतिकै त्रास छ ।
रास्वपाले विशेषगरी सुर्खेत–२ लाई आफ्नो सबैभन्दा बलियो आशाको केन्द्र मानेको छ । यहाँका उम्मेदवार रमेशकुमार सापकोटा पूर्वकांग्रेस नेता भएकाले उनले कांग्रेसको परम्परागत मत तान्ने अपेक्षा गरिएको छ । यद्यपि, कांग्रेस र एमाले दुवैको बलियो संगठनलाई चिरेर पर्याप्त मत नकटाएसम्म उनको जित सोचेजस्तो सहज भने देखिँदैन । सुर्खेत–१, दैलेख र अन्य पहाडी जिल्लामा रास्वपाको संगठन अझै पनि कमजोर धरातलमै छ ।

राजनीतिक विश्लेषक पीताम्बर ढकालको बुझाइमा रास्वपाको प्रभाव मुख्यगरी सहरी क्षेत्र र सामाजिक सञ्जालमा सक्रिय युवापुस्तामा बढी छ । तर, कर्णालीका दुर्गम र ग्रामीण भेगमा अझै पनि परम्परागत दलहरूकै ’पकड’ बलियो छ । रास्वपाका कर्णाली सभापति मदन खड्काले धेरै सिटमा राम्रो नतिजा आउने दाबी गरे पनि सामाजिक सञ्जालमा देखिने क्रेज मतपेटिकासम्म कति पुग्छ भन्ने कुरा अझै गर्भमै छ ।
अन्ततः कर्णालीको मुख्य भिडन्त अझै पनि कांग्रेस र एमालेकै वरिपरि घुमेको देखिए पनि ’दोलायमान’ मतदाताको मन कता ढल्किन्छ भन्ने कुराले नै यसपटकको परिणामलाई अप्रत्याशित बनाउन सक्छ ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार