२०८३ वैशाख ६ , आइतबार
कर्णालीमा चुनावी शक्ति परीक्षण

विरासत जोगाउने र इतिहास बदल्नेबीचकाे प्रतिस्पर्धा



सुर्खेत । कर्णालीका १० जिल्ला र १२ निर्वाचन क्षेत्र यतिबेला चुनावी रन्कोले तातेका छन्, जहाँ फागुन २१ गते हुने निर्वाचनका लागि १३१ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको निर्वाचन कर्णालीका लागि केवल एउटा प्रक्रिया मात्र नभई ठूला दलहरूको वास्तविक शक्ति परीक्षणको मैदान बनेको छ, किनकि विगतमा जस्तो यसपटक ठूला दलबीच चुनावी गठबन्धन छैन। २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले एमालेलाई शून्य सिटमा झारिदिएको थियो, तर अहिले सबै दल एक्लाएक्लै भिड्दै गर्दा चुनावी नतिजा निकै रोचक र अनपेक्षित हुने देखिएको छ। नयाँ शक्तिहरू उज्यालो नेपाल, श्रम संस्कृति र प्रगतिशील लोकतान्त्रिक पार्टीको आगमनले पनि कर्णालीको चुनावी रन्कोलाई थप गर्माएको छ।

सुर्खेतमा यसपटक निकै कडा प्रतिस्पर्धा देखिएको छ, जहाँ क्षेत्र नं. १ मा १३ र क्षेत्र नं. २ मा १७ जना उम्मेदवार चुनावी दौडमा छन्। २०७९ को निर्वाचनमा सुर्खेत–१ बाट कांग्रेसका पूर्णबहादुर खड्काले ४२ हजार ६०७ मत र क्षेत्र नं. २ बाट हृदयराम थानीले ३४ हजार ६२५ मतका साथ सानदार जित निकालेका थिए। दैलेखमा पनि दुई क्षेत्रमा गरी २१ जना उम्मेदवार मैदानमा छन्, जहाँ अघिल्लो पटक क्षेत्र नं. १ मा एकीकृत समाजवादीका अम्मरबहादुर थापा र क्षेत्र नं. २ मा कांग्रेसका दिक्पाल शाहीले झिनो मतान्तरले एमाले उम्मेदवारलाई पराजित गरेका थिए।

हिमाली जिल्लाहरूमा पनि चुनावी तापक्रम उत्तिकै बढेको छ। जुम्लामा १० जनाबीच भिडन्त हुँदैछ, जहाँ गत चुनावमा राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मतका साथ सनसनीपूर्ण जित निकालेका थिए। मुगुमा ७ र डोल्पामा ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जहाँ अघिल्लो पटक क्रमशः कांग्रेसका ऐनबहादुर शाही र एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका थिए। हुम्लामा यसपटक ७ जना मैदानमा छन्, जहाँ गत चुनावमा माओवादीका छिरिङ डम्डुल लामाले बाजी मारेका थिए। कालीकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र जाजरकोटमा शक्तिबहादुर बस्नेत पुनः आफ्नो वर्चस्व जोगाउने दाउमा छन्, जसले अघिल्लो पटक भारी मतका साथ जित हासिल गरेका थिए।

सल्यान र रुकुम पश्चिममा पनि चुनावी समीकरण बदलिने संकेत देखिएको छ। सल्यानमा १४ जना उम्मेदवार हुँदा गत चुनावका विजेता प्रकाश ज्वालालाई यसपटक चुनौती थपिएको छ भने रुकुम पश्चिममा जनार्दन शर्मा ‘प्रभाकर’ पुनः चुनावी मैदानमा छन्, जसले अघिल्लो पटक ३९ हजार ५४९ मत पाएर एमालेका नन्दराम देवकोटालाई ठूलो अन्तरले पछि पारेका थिए। बिना गठबन्धन मैदानमा उत्रिएका दलहरूका लागि यो निर्वाचन ‘अस्तित्वको लडाइँ’ जस्तै बनेको छ, जसले कर्णालीको आगामी राजनीतिक दिशा तय गर्नेछ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार