२०८३ वैशाख ६ , आइतबार
कर्णालीका पूर्व मुख्यमन्त्रीमाथि नेकपाको ‘एक्सन’

पार्टी र सांसद पद दुवैबाट निष्कासन



सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कारबाही गरेको छ । कर्णाली प्रदेश संसदीय दलको कार्यालयले शर्मालाई पार्टीको साधारण सदस्य र प्रदेशसभा सदस्य (सांसद) दुवै पदबाट निष्कासन गर्ने निर्णयलाई औपचारिक रूपमा अगाडि बढाएको छ ।
गत माघ २६ गते बसेको नेकपा केन्द्रीय समितिको बैठकले गरेको निर्णयलाई आधार मान्दै संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै शर्मालाई पदमुक्त गर्न जानकारी गराएका हुन् ।
किन भयो कारबाही ?


पार्टीका अनुसार शर्माले जानीजानी दलको नीति, सिद्धान्त, उद्देश्य र आचरण विपरीतका कार्य गरेका थिए। उनले नेकपाको विधान २०८२ र कर्णाली प्रदेश संसदीय दलको विधान २०८२ को प्रतिकूल हुने गरी गतिविधि सञ्चालन गरेको पत्रमा उल्लेख छ । मुख्यगरी, उनी अर्को दल (प्रलोपा) को चुनावी अभियानमा सक्रिय देखिएपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी सबै जिम्मेवारी र सांसद पदबाट समेत हटाउने निर्णय गरेको हो ।
अबको कानुनी प्रक्रिया
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) बमोजिम उनलाई पार्टीबाट निष्कासन गरिएको हुनाले अब उनी कर्णाली प्रदेशसभा सदस्यको रूपमा नरहने कानुनी व्यवस्था छ । दलले सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम उनले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयलाई दिएको छ ।
सभामुखलाई समेत बोधार्थ पठाइएको यो पत्रसँगै अब कर्णाली प्रदेशसभामा राजकुमार शर्माको सांसद पद रिक्त हुने प्रक्रिया सुरु भएको छ । एकताको विपक्षमा उभिँदै आएका शर्माले आफ्नै शैली रोजेपछि नेकपाले उनलाई संसदीय राजनीतिबाटै विदा गर्ने कडा निर्णय लिएको हो ।

प्रकाशित मिति : २०८२ माघ २८ गते बुधबार