सुर्खेत | प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले सुर्खेतमा आफ्नो चुनावी अभियानलाई झन् सशक्त बनाउन थालेको छ। यसै सिलसिलामा एमालेको प्रभावशाली जनवर्गीय संगठन अखिल नेपाल महिला संघ वीरेन्द्रनगर नगर कमिटीले आगामी फागुन २ गते भातृ तथा पेसागत संगठनमा आबद्ध महिला पदाधिकारीहरूको एउटा बृहत् भेला आयोजना गर्ने तयारी गरेको हो।
अखिल नेपाल महिला संघ वीरेन्द्रनगरकी अध्यक्ष टिका घलेको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचनलाई लक्षित गर्दै यो महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकमा पार्टीकी केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर निर्वाचन परिचालन संयोजक मोहनमाया ढकालले भेलाको रणनीतिक महत्त्वबारे प्रकाश पारेकी थिइन्। उनका अनुसार उक्त भेलामा नेकपा एमालेका विभिन्न भातृ तथा शुभेच्छुक संघ-संगठनमा आबद्ध ६ सयभन्दा बढी महिला नेतृत्वलाई सहभागी गराइनेछ।

यो भेला केवल औपचारिक जमघट मात्र नभई आगामी निर्वाचनमा महिलाहरूको संगठनात्मक भूमिका र चुनावी रणनीति तय गर्ने एउटा मुख्य थलो बन्ने देखिएको छ। संयोजक ढकालले निर्वाचनमा जनताको घरदैलोसम्म कसरी पुग्ने, महिला शुभेच्छुकहरूलाई कसरी गोलबन्द गर्ने र पार्टीको पक्षमा माहोल कसरी सिर्जना गर्ने भन्ने विषयमा भेला केन्द्रित हुने जानकारी दिइन्।
“अपेक्षित नतिजा हासिल गर्न सबैको साझा प्रयास र सक्रियता अनिवार्य छ,” ढकालले बैठकमा भनिन्, “सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेको जित लगभग सुनिश्चित भइसकेको छ, अब हामी सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरू एकताबद्ध भएर अन्तिम तयारीमा लाग्नुपर्छ।”
सोमबारको बैठकमा एमालेका विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थामा आवद्ध महिला प्रतिनिधिहरूको बाक्लो र उत्साहजनक सहभागिता रहेको थियो। फागुन २ गते हुने यो बृहत् भेलाले सुर्खेतमा एमालेको चुनावी माहोललाई थप उचाइमा पुर्याउने र महिला मतदाताहरूलाई पार्टीको एजेन्डामा जोड्न ठोस भूमिका खेल्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस्