२०८३ वैशाख ६ , आइतबार
कर्णालीको राजनीतिमा ठूलो मोड

पूर्वमुख्यमन्त्री शर्मामाथि कारबाहीको अन्तिम तयारी, गुम्न सक्छ सांसद पद



सुर्खेत | कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रभावशाली नेता राजकुमार शर्माको राजनीतिक यात्रा यतिबेला निकै कठिन मोडमा पुगेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शर्मालाई पार्टीको साधारण सदस्य र सांसद पद दुवैबाट हटाउने गरी कारबाहीको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो। पार्टीको निर्णयविपरीत प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को चुनावी प्रचारमा सक्रिय भएको आरोप लागेपछि शर्मामाथि यो कठोर कदम चालिएको हो।

यो विवादको जरा केही समयअघिदेखि नै पलाउन थालेको थियो। शर्मा आबद्ध तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० घटक मिलेर बनेको नेकपाको एकता प्रक्रियाप्रति उनले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए। विशेष गरी रुकुम पश्चिमका नेता जनार्दन शर्माले नेकपाबाट अलग भएर ‘प्रलोपा’ गठन गरेपछि राजकुमारको झुकाव पनि त्यतै देखिएको थियो। पार्टी एकताको विपक्षमा उभिएका उनी लामो समयदेखि पार्टीको सम्पर्कमा समेत थिएनन्। पार्टीभित्र दबाब बढ्दै गएपछि उनले २०८२ मंसिर १७ गते नै संसदीय दलको नेताबाट राजीनामा दिएका थिए, जसका कारण झन्डै डेढ महिनासम्म दलको नेतृत्व रिक्त रहन पुग्यो।

शर्माको पछिल्लो गतिविधि ‘प्रलोपा’ को चुनावी अभियानमा केन्द्रित भएको जानकारी केन्द्रीय कार्यालयमा पुगेपछि नेकपाले गत माघ २२ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले ‘पार्टी र संसदीय दलको सदस्यबाट किन नहटाउने?’ भन्दै स्पष्टीकरण मागेका थिए। तर, तोकिएको समय सीमा (माघ २५) सम्म पनि शर्माले कुनै जवाफ नदिएपछि अब उनलाई निष्कासन गर्ने बाटो खुलेको छ। नेकपाका एक केन्द्रीय सदस्यका अनुसार अब कारबाहीको औपचारिक घोषणा हुन मात्र बाँकी छ।

रुकुम पश्चिमबाट निर्वाचित शर्माको यो बहिर्गमनसँगै कर्णाली प्रदेशसभामा नेकपाको समीकरण पनि बदलिएको छ। ४० सदस्यीय प्रदेशसभामा शर्मासहित नेकपाका १४ सांसद रहेकोमा अब १३ जनामा खुम्चिने देखिएको छ। रिक्त रहेको संसदीय दलको नेतामा गत माघ ३ गते मुगु १ (२) बाट निर्वाचित मंगलबहादुर शाहीलाई बहुमतका आधारमा चयन गरिसकिएको छ।

२०७९ पुसमा एमाले, माओवादी, समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका शर्माको बहिर्गमन कर्णालीको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण अध्याय बन्ने देखिन्छ। हिजो सत्ताको बागडोर सम्हालेका नेता आज आफ्नै मातृ पार्टीबाट निष्कासित हुने अवस्थामा पुग्नुले कर्णालीको राजनीति कुन दिशामा जाँदैछ भन्ने नयाँ बहस समेत सुरु गरिदिएको छ।

प्रकाशित मिति : २०८२ माघ २८ गते बुधबार