सुर्खेत | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ यसपटक एउटा भिन्न र ऐतिहासिक मोडमा उभिएको छ। दशकौँदेखि यो क्षेत्रको राजनीतिमा हाबी हुँदै आएका ‘स्थापित नाम’हरू यसपटक चुनावी रिङबाट बाहिरिएपछि सुर्खेत–२ पूर्ण रूपमा नयाँ अनुहारहरूको अखडा बनेको हो। यसले गर्दा यहाँको पुरानो राजनीतिक शक्ति सन्तुलन मात्र भत्किएको छैन, बरु एउटा नयाँ नेतृत्व जन्माउने अनिश्चित र बहुकोणीय प्रतिस्पर्धाको ढोका समेत खोलेको छ।
मैदानमा कुल १७ जना उम्मेदवारहरू छन्, जसमा १४ जना विभिन्न राजनीतिक दलका छन् भने ३ जना स्वतन्त्र चुनावी दौडमा छन्। तर, यो भीडमा सबैभन्दा रोचक पक्ष भनेकै प्रमुख दलहरूले गरेको ‘नयाँ प्रयोग’ हो।

कांग्रेसको विरासत र कोइरालाको परीक्षा
लामो समयदेखि सुर्खेत–२ भन्नासाथ कांग्रेसका कद्दावर नेता एवं पूर्वमन्त्री हृदयराम थानीको नाम आउँथ्यो। छ पटक निर्वाचन लडेर तीन पटक जितेका थानीले यसपटक स्वास्थ्यका कारण मैदान छोडेपछि कांग्रेसले नयाँ अनुहारका रूपमा नारायणकुमार कोइरालालाई अघि सारेको छ। थानीले बनाएको बलियो र पुरानो विरासतलाई थाम्नुपर्ने चुनौती बोकेका कोइरालाका लागि यो निर्वाचन केवल हार-जित मात्र होइन, बरु थानीपछिको नेतृत्वमा मतदाताको ‘विश्वासको परीक्षा’ समेत बनेको छ।
एमाले र नेकपाको रणनीति
नेकपा (एमाले) ले यसपटक आफ्ना जिल्ला अध्यक्ष कुलमणि देवकोटालाई संसद्को बाटो देखाउने प्रयास गरेको छ। संगठनमा भिजेका देवकोटाका लागि प्रतिनिधिसभाको यो चुनावी अनुभव पहिलो र चुनौतीपूर्ण छ। उता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादी युद्धकालको चर्चित ‘सुर्खेत जेलब्रेक’ का कमान्डर झकबहादुर मल्ललाई ११ वर्षपछि चुनावी मैदानमा फर्काएको छ। मल्लको आगमनले एमाले र कांग्रेसभित्रको असन्तुष्ट मत तान्ने नेकपाको रणनीतिक दाउ देखिन्छ।
रास्वपाको ‘विद्रोही कार्ड’ र समीकरणको फेरबदल
यो चुनावी खेलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटा सबैभन्दा ठूलो ‘फ्याक्टर’ बन्न सक्ने अनुमान गरिएको छ। लामो समय कांग्रेसको राजनीतिमा रहेका सापकोटाले पार्टी त्यागेर घन्टी रोजेपछि कांग्रेसको परम्परागत मतमा ठूलो धक्का लाग्ने देखिएको छ। नयाँ पार्टीप्रतिको आकर्षण र असन्तुष्ट मतदाताको मन जितेर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा सापकोटा छन्।
अंकगणित र अनिश्चित नतिजा
२०७९ को समानुपातिक मतलाई आधार मान्ने हो भने एमाले यहाँ पहिलो शक्ति देखिन्छ, त्यसपछि क्रमशः कांग्रेस, नेकपा र रास्वपा छन्। तर, यसपटक स्थापित नेताहरूको अनुपस्थिति र दलहरूभित्रको आन्तरिक कलहले अघिल्लो मत परिणामलाई पूर्ण रूपमा बदल्न सक्ने संकेत गरेको छ। स्पष्ट त्रिकोणीय प्रतिस्पर्धाको साटो सुर्खेत–२ यसपटक अनिश्चित र बहुकोणीय भिडन्ततर्फ धकेलिएको छ।
अन्ततः सुर्खेत–२ का मतदाताले यसपटक ‘पुरानो परिचय’ भन्दा ‘नयाँ विकल्प’ लाई कत्तिको प्राथमिकता दिन्छन् भन्ने कुराले नै आगामी फागुन २१ को नतिजा तय गर्नेछ। के नयाँ अनुहारहरूले सुर्खेतको राजनीतिमा नयाँ ऊर्जा भर्न सक्लान्? यो प्रश्नको उत्तर अहिले सिङ्गो कर्णालीले चासोका साथ पर्खिरहेको छ।
प्रतिक्रिया दिनुहोस्