२०८३ साउन १२ , मंगलबार
आमाहरूको उद्यम यात्रा

सिके १० प्रकारका अचार बनाउने तालिम



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर, जो पछिल्लो समय कर्णालीको प्रमुख शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको छ। यहाँ आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिनका लागि दुर्गमका विभिन्न गाउँबाट आएका आमाहरू अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। छोराछोरी विद्यालय वा कलेज गएपछिको खाली समयलाई कसरी सदुपयोग गर्ने भन्ने चिन्तामा रहेका ती आमाहरूका लागि शिक्षा विकास निर्देशनालयले एउटा सुन्दर अवसर जुराइदिएको छ।

निर्देशनालयद्वारा सञ्चालित १० दिने ‘अचार बनाउने तालिम’ मंगलबार एक विशेष समारोहका बीच समापन भएको छ। तालिममा सहभागी १७ जना आमाहरूले अब केबल घरको काममा मात्र सीमित नभई व्यावसायिक रूपमै अचार उत्पादन गर्न सक्ने सीप हासिल गरेका छन्। उनीहरूले विभिन्न १० प्रकारका स्वादिला अचार बनाउनुका साथै ती अचारलाई कसरी सुरक्षित रूपमा ‘प्याकेजिङ’ र आकर्षक ‘लेबलिङ’ गर्ने भन्ने प्राविधिक ज्ञान समेत प्राप्त गरेका छन्।

तालिम समापन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यो तालिमको मुख्य उद्देश्य नै आमाहरूलाई उद्यमसँग जोड्नु रहेको बताए। उनले भने, “छोराछोरी पढाउनकै लागि सहरमा डेरा गरी बस्ने आमाहरूले दिउँसोको फुर्सदको समयलाई खेर नफाली आर्थिक उपार्जनमा लगाऊन् भन्ने हाम्रो चाहना हो।” मन्त्री भण्डारीले हरेक नागरिक आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै तालिमपछि उत्पादन गरिएका परिकारहरूलाई बजारसम्म पुर्‍याउन र व्यवसायीकरण गर्नका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए।

शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालले ‘सीप विकास तालिम कार्यक्रम’ अन्तर्गत विशेष गरी अस्थायी बसोबास गर्ने महिलाहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको जानकारी दिइन्। निर्देशनालयका अनुसार अहिले अचार बनाउने मात्र नभई महिलाहरूलाई स्वरोजगार बनाउन अटो ड्राइभिङ, सिलाई-कटाई र दालमोठ बनाउने जस्ता अन्य सीपमूलक तालिमहरू पनि धमाधम सञ्चालन भइरहेका छन्।

यस्ता तालिमले सहरमा बसेर सन्तानको भविष्य उज्ज्वल बनाउन संघर्ष गरिरहेका आमाहरूलाई आफ्नै खुट्टामा उभिन र परिवारको आर्थिक बोझ कम गर्न ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ। तालिम सकिएपछि सहभागी आमाहरूमा अब आफ्नै सानो व्यवसाय सुरु गर्ने उत्साह र आत्मविश्वास झल्किएको देखिन्थ्यो।

प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार