२०८३ साउन १२ , मंगलबार
सुर्खेतमा प्रहरीको नयाँ एक्सन

लागूऔषध पिएर सवारी चलाउने ६ चालक फन्दामा



सुर्खेत | सडक सुरक्षालाई थप मजबुत बनाउन र सवारी दुर्घटना न्यूनीकरणका लागि सुर्खेत प्रहरीले थालेको नयाँ अभियानले नतिजा देखाउन थालेको छ। सोमबार वीरेन्द्रनगर नगरपालिका–११ मा गरिएको विशेष जाँचका क्रममा लागूऔषध सेवन (लापसे) गरेर सवारीसाधन चलाइरहेका ६ जना चालकहरू प्रहरीको फन्दामा परेका छन्। सवारी चलाउँदा मदिरा मात्र होइन, लागूऔषध सेवन गर्नेहरूको संख्या पनि बढ्दै गएको जनगुनासोपछि प्रहरीले यो सक्रियता देखाएको हो।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले सोमबार सडकमा गुडिरहेका सवारीसाधनहरूलाई रोकेर सूक्ष्म ढङ्गले जाँच गरेको थियो। त्यसक्रममा शंकास्पद देखिएका चालकहरूलाई प्रहरीले हालै प्रयोगमा ल्याएको ‘लापसे किट’ (लागूऔषध परीक्षण किट) मार्फत परीक्षण गरेको थियो। परीक्षणका क्रममा ६ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन्।

पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज–८ का २८ वर्षीय अजय थापा, सुर्खेतको वीरेन्द्रनगर–११ निवासी २५ वर्षीय कासीराम डाँगी र २५ वर्षीय प्रकाश वि.क. रहेका छन्। यसैगरी दैलेखको चामुण्डा बिन्द्रासैनी–७ का २४ वर्षीय हिक्मत शाही र २५ वर्षीय जीवन शाही तथा गुराँस गाउँपालिका–४ का २५ वर्षीय डिल बहादुर विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यी युवाहरूले सार्वजनिक सडकमा अरूको ज्यान समेत जोखिममा पार्ने गरी लागूऔषधको नशामा सवारी चलाइरहेका थिए।

कर्णाली प्रदेशमा पछिल्लो समय लागूऔषधको कारोबार र प्रयोगकर्ताहरूको संख्या डरलाग्दो गरी बढेको पाइएपछि सुर्खेत प्रहरीले गत सातादेखि नै विशेष अभियान सुरु गरेको हो। जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीका अनुसार अघिल्लो आइतबारदेखि नै शंकास्पद व्यक्तिहरूको पहिचान गर्न ‘लापसे किट’ को प्रयोगलाई तीव्रता दिइएको छ। यसअघि मदिरा सेवन (मापसे) को मात्र परीक्षण हुने गरेकोमा अब लागूऔषध सेवन गर्नेहरूको पनि तत्कालै पहिचान गरी कारबाहीको दायरामा ल्याइनेछ। प्रहरीको यो कदमले सडकमा हुने लापरबाही कम हुने र लागूऔषध नियन्त्रणमा समेत ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार