२०८३ वैशाख ६ , आइतबार
सुर्खेतमा प्रहरीको सक्रियता

८ ग्राम ब्राउनसुगरसहित दुई युवक पक्राउ



सुर्खेत | वीरेन्द्रनगरको शान्त वातावरणलाई धमिल्याउने गरी भइरहेको लागूऔषधको अवैध कारोबारमाथि सुर्खेत प्रहरीले कडा प्रहार गरेको छ। वीरेन्द्रनगर नगरपालिका–११ मा लुकिछिपी ब्राउनसुगरको कारोबार भइरहेको भन्ने विशेष र गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई जना युवालाई रङ्गेहात नियन्त्रणमा लिन सफल भएको हो।


पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–१ का २० वर्षीय शौरभ सुनार र दैलेखको दुल्लु नगरपालिका–१३ घर भई हाल सुर्खेतमै बस्दै आएका १९ वर्षीय नरेन्द्र तिरुवा रहेका छन्। शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई प्रहरीले तत्काल घेरा हालेर नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा उनीहरूको साथबाट ८ ग्राम १८० मिलिग्राम शुद्ध ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
बरामद गरिएको उक्त परिमाणको लागूऔषध र दुवै अभियुक्तलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीका अनुसार उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ। अहिले उनीहरू यो धन्दामा कसरी संलग्न भए र यसको जालो कहाँसम्म फैलिएको छ भन्ने विषयमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ। पछिल्लो समय युवा पुस्ता लागूऔषधको दलदलमा फस्दै गएको चिन्ताजनक अवस्थामा प्रहरीको यो सक्रियतालाई निकै महत्त्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार