सुर्खेत | कर्णाली प्रदेशको चुनावी राजनीति यसपटक निकै रोचक मोडमा पुगेको छ। विशेष गरी नेकपा (एमाले) का लागि आगामी फागुन २१ गते हुने निर्वाचन केवल एउटा प्रतिस्पर्धा मात्र होइन, यो त आफ्नो गुमेको साख र विरासत फर्काउने एउटा ठूलो अग्निपरीक्षा पनि हो। २०७४ सालको निर्वाचनमा कर्णालीका १२ सिटमध्ये आधा अर्थात् ६ सिटमा कब्जा जमाएर विजयको झण्डा गाडेको एमालेका लागि २०७९ को निर्वाचन भने निकै पीडादायी रह्यो, जहाँ उसले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन र ‘शून्य’ मा खुम्चिनु पर्यो।
तर, राजनीतिमा असम्भव भन्ने केही छैन। अहिले एमालेले २०७९ को त्यो नमीठो नतिजालाई बिर्सिएर २०७४ कै इतिहास दोहोर्याउने गरी आक्रामक तयारी थालेको छ। एमालेका केन्द्रीय सचिव एवं कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल आफैँ यसपटकको मोर्चा सम्हालिरहेका छन्। उनले आत्मविश्वासका साथ दाबी गरेका छन् कि यसपटक कर्णालीका कम्तीमा पाँच वटा निर्वाचन क्षेत्रमा एमालेले सानदार जित निकाल्नेछ। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीचको बलियो गठबन्धनका कारण एमाले रक्षात्मक बनेको थियो। तर, यसपटक ठूला दलहरू एक्लाएक्लै मैदानमा उत्रिँदा एमालेले आफ्नो सङ्गठनात्मक शक्तिलाई नै मुख्य हतियार बनाएको छ।
एमालेको यो आत्मविश्वासको बलियो आधार भनेको २०७९ को समानुपातिक मत पनि हो। प्रत्यक्षतर्फ सिट नजिते पनि समानुपातिकतर्फ एमालेले १ लाख ८३ हजार १३३ मत प्राप्त गरी कर्णालीको पहिलो दल बनेको थियो। कांग्रेस र माओवादीलाई पछि पारेको त्यही जनमतले गर्दा नै अहिले एमालेका नेताहरू उत्साहित देखिएका हुन्। विशेष गरी सुर्खेत र दैलेखका दुई–दुई निर्वाचन क्षेत्रलाई एमालेले आफ्नो सुरक्षित ‘टार्गेट’ मा राखेको छ। सुर्खेतमा यसपटक कांग्रेसका पुराना र प्रभावशाली हस्तीहरू पूर्णबहादुर खड्का र हृदयराम थानी चुनावी मैदानमा नहुनुलाई एमालेले आफ्नो विजयको सुनौलो अवसरका रूपमा हेरेको छ।
सुर्खेत–१ मा कांग्रेसका विष्णु खड्का र एमालेका ध्रुव शाहीबीचको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ भने सुर्खेत–२ मा पनि नयाँ अनुहारहरूबीचको प्रतिस्पर्धाले चुनावी माहौल तातेको छ। तर एमालेका लागि कर्णालीको बाटो पूर्ण रूपमा सहज भने छैन। जाजरकोट, रुकुम पश्चिम, कालीकोट, जुम्ला र हुम्ला जस्ता जिल्लाहरू एमालेका लागि विगत दुई दशकदेखि ‘फलामको चिउरा’ जस्तै बनेका छन्। २०६४ सालयता यी क्षेत्रमा एमालेले जितको स्वाद चाख्न पाएको छैन। जुम्ला र हुम्लामा २०५६ सालमा जितेको त्यो पुरानो विरासत फर्काउन यसपटक शान्तिलाल महत र दल फडेरालाई मैदानमा उतारिएको छ।
यसपटकको चुनावमा एमालेले केवल पुराना प्रतिस्पर्धीसँग मात्र होइन, रास्वपा र राप्रपा जस्ता उदाउँदा शक्तिहरूसँग पनि जुध्नुपर्नेछ। जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही र रास्वपाकी विनिता कठायतको उपस्थिति तथा हुम्लामा नयाँ दलहरूको बढ्दो सक्रियताले एमालेको ‘मिसन ५’ लाई चुनौती थपेको छ। यद्यपि, आफ्नो सङ्गठनात्मक सञ्जाल र मतदाताको मनोविज्ञान बुझेको दाबी गर्ने एमालेले यसपटक कर्णालीमा चमत्कार गर्ने योजना बुनेको छ। के एमालेले २०७९ को त्यो शून्यको इतिहास मेटेर पुनरागमनको नयाँ कथा लेख्न सक्ला? यसको फैसला फागुन २१ गते कर्णालीका मतदाताले गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्