सुर्खेत | कर्णाली प्रदेशको राजनीतिमा सुर्खेत क्षेत्र नं. १ केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो त नेपाली कांग्रेसको एउटा बलियो किल्ला र शक्ति केन्द्रको रूपमा चिनिँदै आएको छ। यो क्षेत्रको चर्चा गर्दा जसको नाम सबैभन्दा अगाडि आउँछ, उनी हुन्— पूर्णबहादुर खड्का। झन्डै साढे तीन दशकदेखि यो क्षेत्रमा खड्काको राजनीतिक दबदबा यति मजबुत रह्यो कि, वि.सं. २०४८ सालदेखि सुरु भएको उनको संसदीय यात्रा २०६४ को पहिलो संविधानसभा निर्वाचनबाहेक सधैँ विजयको मालामै टुङ्गियो। २०७४ सालको वाम लहरमा एमालेका ध्रुवकुमार शाहीसँग झिनो अन्तरले पराजित हुनुबाहेक खड्काले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। २०७९ मा पुनः सानदार जित निकाल्दै उनले यो क्षेत्र आफ्नो सुरक्षित भूमि भएको प्रमाणित गरिदिएका थिए।
तर, यसपटक सुर्खेत-१ को चुनावी रङ्गमञ्चमा एउटा ठूलो र अप्रत्याशित मोड आएको छ। आठौँ पटक उम्मेदवार बन्ने निश्चित प्रायः मानिएका र देशको सम्भावित प्रधानमन्त्रीका रूपमा समेत हेरिएका पूर्णबहादुर खड्का यसपटक स्वयं चुनावी मैदानमा छैनन्। पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्ष, विशेष गरी गगन थापा र विश्वप्रकाश शर्मा समूहले नेतृत्व गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि परिस्थिति बदलिएको छ। पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका खड्काले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेसँगै नैतिकताको आधारमा चुनाव नलड्ने साहसिक घोषणा गरे। यही राजनीतिक जटिलताका बीच कांग्रेसले यस क्षेत्रमा नयाँ अनुहारका रूपमा पूर्णबहादुरकै सहोदर भाइ ५८ वर्षीय विष्णुबहादुर खड्कालाई अघि सारेको छ।

विष्णुबहादुर खड्का राजनीतिमा नयाँ नाम भने होइनन्। उनी हाल जिल्ला कार्यसमितिमा उपसभापतिको जिम्मेवारीमा छन् भने सुर्खेतको व्यावसायिक वृत्तमा मेडिकल र यातायात क्षेत्रको स्थापित नाम हुन्। तर, अहिले आम मतदाता र राजनीतिक विश्लेषकहरूको मनमा एउटै प्रश्न उब्जिएको छ— के दाजु पूर्णबहादुरले ३४ वर्ष लगाएर बनाएको त्यो विशाल राजनीतिक विरासतलाई विष्णुले जोगाउन सक्लान्? यो निर्वाचन विष्णुका लागि केवल एउटा सिटको लडाइँ मात्र नभई खड्का परिवारको राजनीतिक साख बचाउने ठूलो अग्निपरीक्षा समेत बनेको छ। यदि उनले फागुन २१ गते हुने निर्वाचनमा सफलता हात पारे भने, दाजुको मार्गदर्शनमा उनको राजनीतिक उचाइ थप बढ्ने निश्चित छ।
चुनावी मैदान भने यसपटक निकै बहुरङ्गी र चुनौतीपूर्ण देखिएको छ। विष्णु खड्काका अगाडि एमालेका नेता ध्रुवकुमार शाही मुख्य प्रतिस्पर्धीका रूपमा उभिएका छन् यति मात्र होइन, चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्व कांग्रेस नेता टेकबहादुर सिंह आक्रामक ढङ्गले होमिएका छन्। उता, ‘जेन–जी’ आन्दोलनका चर्चित अनुहार रविकिरण हमाल राप्रपाबाट र एमालेका पूर्व प्रभावशाली नेता ठम्मर विष्ट ‘उज्यालो नेपाल’ पार्टीबाट मैदानमा उत्रिँदा प्रतिस्पर्धा बहुकोणीय बनेको छ। नेकपाका जितबहादुर रानासहित १३ जना उम्मेदवारको उपस्थितिले सुर्खेत-१ को राजनीतिलाई थप रोचक बनाएको छ।
वीरेन्द्रनगरका केही वडासहित लेकवेशी, चिङ्गाड, सिम्ता, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन्। परम्परागत रूपमा कांग्रेस र एमालेबीचको मुख्य टक्कर हुने देखिए तापनि नयाँ शक्तिहरूको उदय र रास्वपाको बढ्दो आकर्षणले नतिजा कसको पक्षमा जान्छ भन्न कठिन छ। के विष्णु खड्काले दाजुको बिँडो थाम्दै विजयको झन्डा गाड्नेछन् वा सुर्खेत-१ मा नयाँ राजनीतिक अध्यायको सुरुवात हुनेछ? यसको फैसला आगामी फागुन २१ गतेको निर्वाचनले नै गर्नेछ, जसलाई अहिले सिङ्गो कर्णालीले चासोका साथ पर्खिरहेको छ।
प्रतिक्रिया दिनुहोस्