२०८३ वैशाख ६ , आइतबार
सुर्खेतलाई व्यावसायिक हब बनाउने लक्ष्य

निजी क्षेत्रको सुरक्षा र लगानीमा जोड



सुर्खेत । शनिबार सुर्खेत उद्याेग वाणिज्य संघको ४२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। उद्योगी र व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको उक्त साधारणसमाले सुर्खेतलाई एउटा मजबुत व्यावसायिक केन्द्र (हब) का रूपमा विकास गर्ने साझा अठोट व्यक्त गरिएको छ। साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको विशेष उपस्थिति रहेको थियो, जहाँ उनले निजी क्षेत्रले भोग्नुपरेका समकालीन चुनौती र राज्यको दायित्वका विषयमा गहन धारणा राखेका थिए।

साधारणसभाले आगामी दिनका लागि तय गरिएका महत्वपूर्ण नीति र कार्यक्रमहरूलाई सर्वसम्मत रूपमा पारित गरेको छ। विशेषगरी सुर्खेतको आर्थिक विकासका लागि लगानी प्रवर्द्धन गर्ने, पूर्वाधार विकासमा तीव्रता दिने र दक्ष जनशक्ति तयार पारी उनीहरूको उचित व्यवस्थापन गर्ने लक्ष्य संघले लिएको छ। व्यवसायीहरूको हकहितका लागि नीतिगत तहमा पैरवी गर्ने र आर्थिक लचकता अपनाउँदै व्यावसायिक वातावरण सुधार्ने विषयलाई यसपटक प्राथमिकतामा राखिएको छ। कार्यक्रममा संघका महासचिव रामप्रसाद जैशीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण खत्री देवकोटाले पेस गरेको आर्थिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र अहिले निकै कठिन मोडबाट गुज्रिरहेको बताए। उनले कोभिड–१९ को असरबाट तंग्रिन नपाउँदै पछिल्लो समय देखिएको ‘जेन–जी’ आन्दोलन र त्यसले निम्त्याएको अस्थिरताले व्यवसायीहरूमा थप चिन्ता जगाएको उल्लेख गरे। देशको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८७ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई राज्यले उपेक्षा गर्न नहुने उनको तर्क थियो। श्रेष्ठले आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा निजी क्षेत्रको मनोबल उकास्ने र लगानीको सुरक्षा प्रत्याभूत गर्ने स्पष्ट एजेन्डाहरू समावेश गर्नुपर्नेमा जोड दिए। जबसम्म व्यवसायीले सुरक्षित महसुस गर्दैनन्, तबसम्म देशमा लगानीको वातावरण बन्न नसक्ने उनको ठम्याइ थियो।

यसैगरी, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सरकारले कागजमा राम्रा नीति र बजेट ल्याए पनि कार्यान्वयनको पाटो निकै फितलो रहेको गुनासो गरे। निजी क्षेत्रका मागहरूलाई राज्यले गम्भीरतापूर्वक नलिएको भन्दै उनले व्यवहारिक कार्यान्वयनको माग गरे। कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले भने राज्यले व्यवसायीको आत्मबल बढाउन कुनै कसर बाँकी नराख्ने आश्वासन दिँदै व्यवसायीहरूले पनि प्रचलित नियम र कानुनको पूर्ण पालना गर्नुपर्ने कुरामा सचेत गराए।

उक्त साधारणसभा केवल औपचारिक छलफलमा मात्र सीमित रहेन। संघले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व र सम्मानको परम्परालाई निरन्तरता दिँदै पूर्वसमिति सदस्यहरू, उत्कृष्ट कर्मचारीहरू र सञ्चार क्षेत्रमार्फत योगदान पुर्‍याउने पत्रकारहरूलाई पनि सम्मान गरेको थियो। साथै, शैक्षिक क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले ‘समीक्षा स्मृति छात्रवृत्ति’ समेत वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न प्रदेशका उद्योग वाणिज्य संघका पदाधिकारीहरू, पूर्वअध्यक्षहरू र सदस्यहरूको उत्साहजनक सहभागिताले सुर्खेतको व्यावसायिक एकतालाई अझ प्रगाढ बनाएको देखिन्थ्यो।

प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार