२०८३ वैशाख ५ , शनिबार
कर्णाली प्रदेश प्राप्तिको एक दशक

दलहरु सत्ताको लुछाचुडीमै रमाए, समृद्धकाे सपना भाषणमै सीमित



सुर्खेत । आज भदौ ४ गते । अर्थात कर्णालीको जन्म दिन । दश वर्षअघि आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो । मुलुक संघिय संरचनामा रुपान्तरण् हुँदै गर्दा तत्कालिन नेतृत्वले मध्यपश्चिमका जिल्लाहरु सुदुरपश्चिममा गाभ्ने निर्णय ग¥यो । ६ प्रदेश सहितको प्रादेशिक संरचना सार्वजनिक भएपछि तत्कालिन मध्यपश्चिम विकास क्षेत्रले विरोध जनायो । २०७२ साउन २३ गतेदेखि अखण्ड मध्यपश्चिम प्रदेशको माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सुरुभएको आन्दोलन हरेक जिल्ला सदरमुकाम गाउँगाउँमा पुग्यो ।
आन्दोलन चर्किदै जाँदा सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लामा हरिबहादुर कुँवरले ज्यान गुमाए । सयौँ घाइते भए । १३ दिनसम्म आन्दोलन चर्कियो । अन्ततः तत्कालिन नेतृत्व सुदूरपश्चिममा गाभिएका जिल्लाहरु फिर्ता ग¥यो । साविकको भेरी कञ्चलका सुर्खेत, दैलेख र जाजरकोट, राप्तिका सल्यान, रुकुमपश्चिम र कर्णाली अञ्चलका कालिकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा गरीलाई मिलाएर २०७२ भदौ ४ गते छैठौं (कर्णाली) प्रदेश घोषणा ग¥यो ।


आन्दोलनको बलबाट प्राप्त भएको कर्णाली प्रदेश स्थापना भएको पाँच वर्ष पुगेको छ । संघर्षबाट कर्णालीवासीले छुट्टै प्रदेश र सरकार त पाए । तर समृद्ध कर्णाली निर्माण गर्ने आन्दोलनको मूख्य उद्देश्य भने पुरा भएको छैन । प्रदेश सरकार गठन भएको आठ वर्ष पुग्दा पनि विकास निर्माणले गति लिन सकेको छैन । भएका विकास निर्माण पनि कछुवागतिमा छन् । प्रदेश सरकारले हालसम्म ल्याएका चार वटा नीति तथा कार्यक्रम र बजेटले समृद्धिको आकाँक्षालाई छुन नसकेको देखिन्छ । यही कारण सहिद परिवार, तत्कालिन आन्दोलनका अगुवा र आम नागरिकहरु प्रदेश सरकारसँग असन्तुष्ट छन् ।
‘प्रदेश प्राप्तिको आन्दोलनमा हामीले आफन्त गुमायौँ तर प्रदेश सरकारले सहिदको रगतको सम्मान गर्न सकेको छैन’ सहिद यामबहादुर विसीको बहिनी भगवति भन्छिन् ‘सालिक निर्माण, सहिद गेट, सहिदको नाममा चोकहरुको नामाकरण भएको छैन ।’ आन्दोलनमा भाइ गुमाएका जुम्लाका राजबहादुर कुँवरले सहिदका सपनाहरु पुरा हुन नसको बताउँछन् । ‘आन्दोलनबाट सिमाङ्कनका हिसावले प्रदेश प्राप्ति भयो तर समृद्ध कर्णालीको सपना अधुरै छ’ उनी भन्छन् ‘सहिदको रगतले भूगोल प्राप्ति भयो, समृद्धिको सपनामा कालो बादल मडारिरहेको छ ।’
उसो त सहिद परिवारमात्रै होइन । आन्दोलनमा सहभागी अगुवाहरुले पनि समृद्ध कर्णालीको संकल्प अभुरै रहेको बताउँछन् । ‘आन्दोलनकै बलमा प्रदेश प्राप्ति भयो तर विकास निर्माणले काँचुली फेर्न सकेको छैन’ अखण्ड मध्यपश्चिम आन्दोलन नागरिक संघर्ष समितिका संयोजक तेजबिक्रम बस्नेत भन्छन् ‘आन्दोलनको मर्म प्रदेश प्राप्ति गर्नुमात्र नभइ कर्णालीको विकास मुहार र जनताको जीवनस्थर बदल्नु थियो ।’
यस्तै जुम्ला आन्दोलन परिचालन कमिटीका सदस्य सुरबहादुर सिंहले पनि प्रदेश समृद्धिको सुरुवात समेत हनु नसकेको बताउँछन । विशेष अधिकारका निम्ति जुम्लावासी आन्दोलन विकास निर्माणमा प्राथमिकता नपाएको उनको तर्क छ ।


सहिद परिवारलाई रोजगारी
यता कर्णाली प्रदेश सरकारले प्रदेशप्राप्तिको आन्दोलनमा सहिद भएका परिवारलाई रोजगारी दिएको छ । सहिद परिवारबाट एक/एक जनालाई रोजगारी दिइएको कर्णाली प्रदेश सरकारले जनाएको छ । परिवारका सदस्यको योग्यता र क्षमता अनुसार जीवन निर्वाहका लागि रोजगारी दिएको हो । प्रदेश सरकारले कार्यालय सहयोगीदेखि नायव सुव्वा सरहको सेवा पाउने गरी सहित परिवारका एक/एक जना सदस्यलाईरोजागरी दिएको हो ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार