२०८३ साउन १२ , मंगलबार
किशाेरीकाे 'सुरक्षा कवच'

लगाइदैछ कर्णालीका २१ हजार बालिकालाई एचपिभी खोप



सुर्खेत । कर्णाली प्रदेशका बालिकाहरूलाई भविष्यमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन प्रदेश सरकारले विशेष अभियान सुरु गर्दैछ। आगामी माघ २५ गतेदेखि कर्णालीका १० वटै जिल्लामा १४ वर्षमुनिका २१ हजारभन्दा बढी बालिकालाई एचपिभी खोप दिन लागिएको हो। यो अभियानमा विद्यालय जाने र नजाने दुवै समूहका बालिकाहरूलाई समेटिनेछ। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार माघ २५ मा दैलेख र जाजरकोटबाट सुरु हुने यो अभियान फागुन हुँदै वैशाखको पहिलो साता डोल्पा पुगेर सम्पन्न हुनेछ। सुर्खेतमा फागुन १ गतेदेखि खोप लगाइनेछ भने अन्य जिल्लाहरूमा पनि फागुन र चैत महिनाभित्रै बालिकाहरूले यो सुरक्षा पाउने निर्देशक डा. रबिन खड्काले बताएका छन्। गत वर्षको ९० प्रतिशत सफलतालाई यसपटक शतप्रतिशतमा पुर्‍याएर सन् २०३० सम्म यो क्यान्सरलाई पूर्ण रूपमा निवारण गर्ने लक्ष्य राखिएको छ।

तिमीलाई जिज्ञासा लाग्न सक्छ, यो एचपिभी खोप आखिर किन लगाइन्छ? वास्तवमा पाठेघरको मुखमा हुने क्यान्सरको मुख्य कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ को संक्रमण हो। सानै उमेरमा, विशेषगरी ९ देखि १४ वर्षभित्र यो खोप लगाउँदा बालिकाहरूको शरीरमा उक्त भाइरससँग लड्ने बलियो क्षमता विकसित हुन्छ। यसले भविष्यमा हुन सक्ने क्यान्सरको जोखिमलाई ९० प्रतिशतसम्म कम गरिदिन्छ, जसले गर्दा तिम्रो घर-परिवारका नानीहरूले सुरक्षित र स्वस्थ जीवन जिउन पाउँछन्। यो खोप निकै प्रभावकारी र सुरक्षित मानिएकाले आफ्नो क्षेत्रका बालिकाहरूलाई तोकिएको समयमै खोप केन्द्रमा पुर्‍याएर यो महत्वपूर्ण अवसरको लाभ लिनु जरुरी छ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार