सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सामान्यभन्दा संवेदनशील मतदान स्थल बढी कर्णाली प्रदेशमा सुरक्षाको तयारी तीव्र पारिएको छ। मत सुरक्षित राख्न र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन प्रदेशका १० वटै जिल्लामा सुरक्षाकर्मीहरू खटाउने गृहकार्य अन्तिम चरणमा पुगेको छ। यसपटक कर्णालीका ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्रको सुरक्षाका लागि कुल १८ हजार ५ सय २८ जना सुरक्षाकर्मी मैदानमा उत्रने भएका छन्।

निर्वाचनलाई निष्पक्ष बनाउन नेपाल प्रहरी र निर्वाचन प्रहरी (म्यादी प्रहरी) को ठूलो टोली परिचालन गरिँदैछ। कर्णाली प्रदेश प्रहरीका अनुसार १५ हजार ३ सय २८ जना प्रहरी सुरक्षामा खटिनेछन्, जसमा ५ हजार ५ सय ८० जना नेपाल प्रहरी र ९ हजार ७ सय ४८ जना निर्वाचन प्रहरी रहनेछन्। प्रदेश प्रहरी प्रवक्ता एसएसपी रामप्रकाश शाहका अनुसार अझै ३ सय ३९ जना प्रहरी अपुग रहेकाले त्यसको व्यवस्थापनमा पनि काम भइरहेको छ। यस्तै, सशस्त्र प्रहरी बलले पनि ३ हजार २ सय सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ, जसमा २ हजार २ सय सशस्त्र प्रहरी र १ हजार निर्वाचन प्रहरी सामेल छन्।

कर्णालीको भौगोलिक विकटता र संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा वर्गीकरण पनि गरिएको छ। डिआईजी जयराम सापकोटाका अनुसार यहाँका ४ सय ४१ मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ भने ६ सय ५१ केन्द्र संवेदनशील र ३ सय १ केन्द्र सामान्य अवस्थामा छन्। सुरक्षा र सहजताका लागि यसपटक सबै मतदान स्थलहरू सरकारी कार्यालयमै राख्ने तयारी गरिएको छ। जिल्ला सुरक्षा समितिले विभिन्न मापदण्डका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गीकरण गर्ने गरेको छ । दुर्गमभन्दा सुगमका मतदान केन्द्र र मतदान स्थललाई संवेदनशील मानेर सोही अनुसार जनशक्ति व्यवस्थापन गरिएको छ । मतदान केन्द्र सरकारी संरचनामै राखिएको छ । सुगममा उम्मेदवार बढी हुने, सामाजिक सञ्जालको बढी प्रयोग हुने जस्ता घटनाले गर्दा संवेदनशील हुने गरेका छन् ।
कर्णालीमा जेनजी आन्दोलनका क्रममा भागेकामध्ये २५ जना कैदीबन्दी अझै फरार भएको, केही हतियार लुटिएको हुँदा निर्वाचनका बेला केही आपराधिक घटना हुन सक्ने जोखिम भए पनि त्यस्ता घटना न्यूनीकरण गर्न थप प्रहरीको व्यवस्था गरिएको उनले बताए । साथै हेभिवेट उम्मेदवार उठेका जिल्लालाई पनि संवेदनशील मानिएको छ । यसै गरी निर्वाचनका बेला सामाजिक सञ्जालको पनि व्यापक दुरुपयोग हुने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले अनुगमन टोली पनि गठन गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न, मिथ्या सूचना निगरानी गर्न प्रहरी खटाइएको छ ।
निर्वाचन राष्ट्रिय पर्व भएकाले यसलाई भयरहित वातावरणमा शान्तिपूर्ण रूपले सम्पन्न गराउने दायित्व प्रहरीको मात्र नभई सबैको भएकाले सबैलाई उनले आआफ्ना ठाउँबाट योगदान गर्न अपिल गरे ।
प्रदेशभरि रहेका १० लाख ३७ हजार २५० जना मतदाताले निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न पाउनु नै यो सुरक्षा तयारीको मुख्य लक्ष्य हो।
प्रतिक्रिया दिनुहोस्