सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेत शाखाले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा आज वीरेन्द्रनगरमा एक विशेष कार्यक्रम गरी पाँच जना अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेहरूमा प्रेस स्वतन्त्रता सेनानी बालाराम शर्मासहित वरिष्ठ पत्रकारहरू पृथ्वीबहादुर सिंह, खडानन्द कँडेल, डा. दीपक गौतम र सूर्यमणि गौतम छन्। मुख्यमन्त्री यामलाल कँडेलले उनीहरूलाई खादा र प्रमाणपत्रसहित सम्मान गर्दै पत्रकारिता क्षेत्रले नागरिकको भरोसा जित्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मुख्यमन्त्री कँडेलले अहिलेको राजनीतिक अवस्था गम्भीर मोडमा रहेको बताउँदै आसन्न निर्वाचन देश बनाउने र बिगार्ने शक्तिहरूबीचको प्रतिस्पर्धा भएको टिप्पणी गरे। नयाँ भनिएका शक्तिहरू विकासभन्दा पनि विध्वंसको प्रतीक बनेको आरोप लगाउँदै उनले प्रेस चौतारीलाई सत्य र सन्तुलित समाचारमार्फत लोकतन्त्रको रक्षामा लाग्न आग्रह गरे। यस्तै, एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले सामाजिक सञ्जालमा देखिने भीडभन्दा वास्तविक मत परिणाम फरक हुने दाबी गर्दै भ्रम र दुष्प्रचारलाई निस्तेज पार्नुपर्ने औँल्याए।
प्रेस चौतारीका प्रदेश इन्चार्ज यामप्रसाद शर्मा र जिल्ला अध्यक्ष मुना हमालले पनि पत्रकारहरू आफ्नो हक-अधिकार र पेसागत मर्यादामा अडिग रहनुपर्ने बताए। सूचना प्रविधिको दुरुपयोग गरी फैलाइने भ्रमबाट सचेत रहँदै निर्वाचन आचारसंहिता पालना गर्न उनीहरूले सबैलाई अपिल गरे। पत्रकारिता क्षेत्रले निष्पक्ष भएर जनतालाई सुसूचित गराउँदा मात्रै लोकतन्त्र बलियो हुने निष्कर्ष कार्यक्रमको थियो।
प्रतिक्रिया दिनुहोस्