सुर्खेत । उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा न्याय सम्पादनतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ। साउनदेखि पुस मसान्तसम्मको अवधिमा अदालतले कुल मुद्दामध्ये ५३.१ प्रतिशत मुद्दा फर्स्योट गर्न सफल भएको हो।
अदालतका प्रवक्ता एवं निमित्त रजिष्ट्रार प्रेमप्रकाश थापाका अनुसार, गत वर्षबाट सरेर आएका र यस वर्ष दर्ता भएका कुल ५ सय ६४ मुद्दामध्ये ३ सय ५९ वटाको फैसला भइसकेको छ। अब २ सय ५ वटा मुद्दा मात्र फर्स्योट हुन बाँकी छन्। विशेष गरी मेलमिलाप गर्न सकिने प्रकृतिका मुद्दामध्ये ३२ प्रतिशत मुद्दा आपसी समझदारीमै टुङ्ग्याइएको छ, जसले समाजमा सद्भाव कायम राख्न मद्दत पुर्याएको छ।

उच्च अदालत मातहतका जिल्ला अदालतहरूको कार्यसम्पादन पनि सक्रिय देखिएको छ। ६ महिनाको अवधिमा दैलेख जिल्ला अदालतले सबैभन्दा बढी ६३.६३ प्रतिशत मुद्दा फर्स्योट गरेको छ भने सल्यानले ५५.२८ प्रतिशत लक्ष्य पूरा गरेको छ। यसैगरी सुर्खेत, जाजरकोट र रुकुम पश्चिम जिल्ला अदालतहरूले पनि क्रमशः आफ्नो कार्य प्रगति अगाडि बढाइरहेका छन्।
राजस्व र जरिवाना असुलीतर्फ पनि अदालतले सक्रियता देखाएको छ। यस अवधिमा २ करोड ५ लाख ५४ हजार भन्दा बढी जरिवाना रकम असुल भइसकेको छ। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले सर्वोच्च अदालतको रणनीति अनुसार नै काम भइरहेको बताउनुभयो। जनस्तरमा कानुनी चेतना बढेका कारण न्यायका लागि अदालत आउनेहरूको संख्या बढेको उहाँको बुझाइ छ। “नागरिकहरू न्यायका लागि न्यायालयसम्म पुग्नु सकारात्मक पक्ष हो,” मुख्य न्यायाधीश भण्डारीले भन्नुभयो।
प्रतिक्रिया दिनुहोस्