२०८३ वैशाख ६ , आइतबार
महिला नेतृहरू भन्छन्

सहभागिता मात्र होइन, अब महिलालाई नेतृत्व चाहियो



सुर्खेत । मुलुकको राजनीतिमा महिलाहरूको संख्या बढे पनि निर्णायक र नेतृत्वदायी भूमिकामा उनीहरूको उपस्थिति अझै ओझेलमा परेको राष्ट्रियसभा सदस्य रेणु चन्दले बताउनुभएको छ। दलित महिला केन्द्रले आयोजना गरेको एक विशेष संवाद कार्यक्रममा बोल्दै उहाँले महिलालाई नीति निर्माणको तहसम्म पुर्‍याउन अब दल, राज्य र समाजको सोच बदल्नुपर्ने बेला आएकोमा जोड दिनुभयो। “नेतृत्वमा पुगेका महिलाले मात्र आफ्ना वास्तविक पीडा र आवश्यकतालाई सही ढंगले उठाउन सक्छन्,” उहाँले भन्नुभयो।

अझै पनि पितृसत्तात्मक सोच, सामाजिक विभेद र आर्थिक परनिर्भरताका कारण महिलाहरू अगाडि बढ्न नसकेको चन्दको विश्लेषण छ। राजनीतिक दलहरूले महिलालाई केवल भोट बैंक र प्रचारकका रूपमा मात्र प्रयोग गरिरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। भाषणमा मात्र सीमित नभई अब उम्मेदवार छनोट र संगठनको मुख्य जिम्मेवारीमा महिलालाई प्राथमिकता दिनुपर्ने उहाँको माग छ। संसद् र स्थानीय तहमा महिलाको उपस्थिति देखिए पनि कार्यकारी पदमा अझै पुरुषहरूकै दबदबा रहनु दुःखद भएको उहाँले बताउनुभयो।

कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले भने नेतृत्व पाउनका लागि महिलाहरू स्वयं सक्रिय र संगठित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले अधिकारका लागि चुनौती स्वीकार गर्दै अघि बढ्न महिलाहरूलाई आग्रह गर्नुभयो। महिला नेतृत्वबिना दिगो विकास र सामाजिक न्याय सम्भव नहुने भन्दै सहभागी अधिकारकर्मी र राजनीतिक प्रतिनिधिहरूले आगामी निर्वाचनमा महिलालाई अर्थपूर्ण उम्मेदवार बनाउने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार