सुर्खेत । नेपाली सेनाले फागुन २ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताको सन्देश फैलाउन ‘पिस एण्ड युनिटी रन’ आयोजना गर्ने भएको छ। महाशिवरात्री तथा सेना स्थापनाको २६३औं वार्षिकोत्सवको अवसर पारेर उत्तर पश्चिम पृतनाले यो विशेष दौड प्रतियोगिता सञ्चालन गर्न लागेको हो। खेलकुदलाई सामाजिक एकता र राष्ट्रिय पहिचानको आधार स्तम्भ मान्दै नागरिक र सैनिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम तय गरिएको छ।

पृतनापति उपरथि दिपेशजंग शाहका अनुसार ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा विभिन्न विधाका दौड र पैदल यात्रा समावेश गरिएको छ। उत्तर–पश्चिम पृतना हेडक्वार्टर निमारेको आयोजनामा हुने यस कार्यक्रमले खेल क्षेत्रको विकाससँगै भावनात्मक सम्बन्धको विकासमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ।
प्रतियोगितामा ५ किलोमिटर पैदल यात्रादेखि १० किलोमिटरसम्मको दौड समावेश गरिएको छ। ५ किलोमिटरको स्पर्धामा सरकारी कर्मचारी, जनप्रतिनिधि, नेपाली सेनाका सकल दर्जा, संघ–संस्थाका प्रतिनिधि, भूतपूर्व सुरक्षाकर्मी र कक्षा ८ देखि १२ सम्मका छात्राहरूले सहभागिता जनाउन पाउनेछन्। त्यस्तै, १० किलोमिटर दौडतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महिला तथा पुरुष खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ।
खुल्ला पुरुष र महिला दौडमा गरी करिब ८ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ। वीरेन्द्रनगरको सडकमा दौडिएर राष्ट्रिय एकता झल्काउने यो अभियानले कर्णालीमा नयाँ उत्साह थप्ने निश्चित छ।
प्रतिक्रिया दिनुहोस्