सुर्खेत । नेपाल सरकारले देशलाई कुष्ठरोग निवारण भएको घोषणा गरे पनि कर्णाली प्रदेशको तथ्याङ्कले भने अझै चुनौतीपूर्ण अवस्था देखाएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा पछिल्लो समय नयाँ बिरामी थपिने र रोग पत्ता लाग्ने दर दुवै निरन्तर बढिरहेका छन्। आर्थिक वर्ष २०७७/७८ मा ६७ जना नयाँ बिरामी भेटिएकोमा यो संख्या हरेक वर्ष वृद्धि हुँदै आव २०८२/८३ सम्म आइपुग्दा ८३ जना पुगेको छ। यसरी बिरामी संख्या बढ्दै जाँदा रोग पत्ता लाग्ने दर पनि ३.६७ बाट उकालो लाग्दै ४.८७ पुग्नुले समुदायमा अझै पनि यो रोगको जोखिम कायम रहेको संकेत गर्छ।

संक्रमणको दरसँगै उपचारको दायरामा आउनेहरूको संख्यामा पनि उत्तिकै बढोत्तरी देखिएको छ। सुरुमा ७७ जनाले उपचार गराइरहेकोमा हाल यो संख्या बढेर १ सय ११ पुगेको छ। सन्तोषजनक पक्ष के छ भने, रोग पहिचान भएपछि उपचार पूरा गर्नेहरूको संख्या पनि क्रमशः बढ्दै गएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा ६४ जनाबाट सुरु भएको उपचार सफलताको यात्रा अहिले वार्षिक ७५ जनासम्म पुगेको क्षयकुष्ठ फोकल पर्सन पदम केसीले जानकारी दिनुभएको छ।
यो अवस्थालाई मध्यनजर गर्दै निर्देशनालयले अहिले स्थानीय तहमै पुगेर नयाँ बिरामीको खोजी गर्ने र नियमित अनुगमन गर्ने कार्यलाई तीव्रता दिएको छ। बिरामीहरूलाई उपचारका लागि प्रोत्साहित गर्न नियमित औषधि सेवन गर्नेलाई यातायात खर्चबापत एक हजार र अस्पतालमा भर्ना हुनुपर्ने अवस्थाका प्रभावितलाई थप एक हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ। सुर्खेतस्थित साइनिङ अस्पताल आइएनएफले कुष्ठरोगका बिरामीलाई ओपीडी सेवाका साथै आवासीय रूपमा निःशुल्क उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पताल प्रमुख ललितबहादुर सारु बताउनुहुन्छ।
प्रतिक्रिया दिनुहोस्