२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधिसभा निर्वाचन २०८२

यसपालि पर्यवेक्षकको पनि निगरानी गर्न पाइने



सुर्खेत । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने पर्यवेक्षकको पनि निगरानी गर्न सकिने भएको छ । विशेषगरी ज्येष्ठ नागरिक र अशक्तलाई सहयोग गर्ने बहानामा कार्यकर्ता ओसार्ने काम हुन सक्ने भन्दै राजनीतिक दलहरूले यो सुझाव दिएका हुन्। सुर्खेतमा भएको एउटा कार्यक्रममा कांग्रेसका सचिव देवकुमार सुवेदीले पर्यवेक्षकको आवरणमा विगतमा कार्यकर्ता ओसार्ने गरिएकोले यसपटक उनीहरूमाथि पनि नजर राख्नुपर्ने बताएका छन्। उनले चुनावको मौन अवधिमा हुने चलखेल रोक्न र आचारसंहिता पालना गर्न पनि जोड दिएका छन्।

त्यस्तै, अरू नेताहरूले मतदाता र उम्मेदवारको सुरक्षामा ध्यान दिन र मतदातालाई पारिने दबाब रोक्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा फैलिने गलत सूचनालाई नियन्त्रण गर्नुपर्ने र भोट बदर हुन नदिन मतदाता शिक्षा चलाउनुपर्ने सुझाव पनि आएको छ। प्रहरीले चाहिँ चुनावका लागि प्रहरी टोली तयार पारिरहेको र आचारसंहिता पालना गराउन आफूहरू सक्रिय रहेको बताएको छ। राष्ट्रिय मानव अधिकार आयोगले त यसपालि पर्यवेक्षककै निगरानी गर्ने तयारी समेत गरिसकेको छ। प्रशासनका अनुसार अहिलेसम्म लिखित उजुरी नआए पनि आचारसंहिता पालना गर्न सबैलाई भनिएको छ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार