सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अहिलेको राजनीतिक अवस्थालाई लिएर निकै चिन्ता र आक्रोश पोखेका छन्। प्रदेशसभाको स्थापना दिवसमा बोल्दै उनले के भने भने, अचेल ‘नागरिक सरकार’का नाममा जे-जति भइरहेको छ, त्यसको पहिलो निसाना नै प्रदेश सरकार बनेको छ। बाहिर हेर्दा त केही मागहरू राखेर आन्दोलन गरेजस्तो देखिन्छ, तर भित्रभित्रै यो संघीयता र संविधानलाई नै सिध्याउने खेल भएको उनको दाबी छ।

उनका अनुसार केन्द्रबाट हस्तक्षेप गरेर प्रदेशले बनाएका नियम-कानुनलाई काम नलाग्ने बनाउन खोजिएको छ। कँडेलले त झन् नयाँ भनिएका दलहरूलाई कडा प्रहार गर्दै भने— ‘नयाँ हुँ भन्दैमा मात्र हुँदैन, उनीहरू त विकास गर्ने भन्दा पनि सबै कुरा भत्काउनतिर लागेका छन्।’ उनले अब देशमा दुई खालका शक्ति मात्र बाँकी रहेको बताए: एउटा देश बनाउन खोज्ने र अर्को देश बर्बाद पार्न खोज्ने।

अहिले कर्मचारीहरूले पनि केन्द्रको आदेश भन्दै काम रोकिदिँदा उनलाई निकै पिर परेको देखिन्छ। चुनाव होला कि नहोला भन्नेमा पनि उनले शंका गरे। थोरै मान्छे मिलेर होहल्ला गर्दैमा सबै कुरा रोकिने हो भने निर्वाचन गराउन गाह्रो हुने उनको बुझाइ छ। अन्त्यमा, उनले सबै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर यो संकटबाट देश र संविधान बचाउन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्