२०८३ साउन १२ , मंगलबार
सुर्खेतमा प्रादेशिक ललितकला प्रदर्शनी

कर्णालीका तीन कलाकार सम्मानित



सुर्खेत । कर्णाली आफैँमा कला र संस्कृतिको एउटा खुल्ला संग्रहालय हो। यसैको संरक्षण र विकासका लागि कर्णाली प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान विधेयकलाई यसै अधिवेशनबाट पारित गर्ने तयारी गरेको छ, जसले कलाकारको पेशागत सुरक्षा र सीपको स्तरीकरणमा ठूलो मद्दत पुर्‍याउनेछ। यही माहौलका बीच सुर्खेतमा ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ को भव्य उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक समारोहका बीच यो प्रदर्शनीको शुभारम्भ गर्नुभएको हो।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष प्रदेशका अग्रज कलाकारलाई सम्मान गर्ने नीति अनुरूप यस पटक तीन जना व्यक्तित्वलाई सम्मानित गरेको छ। सम्मानित हुनेहरूमा जुम्लाका चित्रलाल श्रेष्ठ, सुर्खेतका धर्म नेपाली र सल्यानका राजकुमार आचार्य हुनुहुन्छ। कला क्षेत्रमा उहाँहरूले पुर्‍याएको लामो योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।

प्रदर्शनीमा कलाकारहरूको आकर्षण वर्षैपिच्छे बढ्दै गएको देखिन्छ। वि.सं. २०८० को पहिलो प्रदर्शनीमा ४९ वटा र २०८१ को दोस्रो प्रदर्शनीमा ७९ वटा कलाकृति राखिएकोमा यस वर्ष त्यो संख्या बढेर १०० नाघेको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय र नेपाल कमर्सियल आर्ट सुर्खेतको संयुक्त प्रयासमा आयोजित यस प्रदर्शनीमा कर्णालीका १० वटै जिल्लाका कलाकारहरूको सहभागिता रहेको छ। माघ २५ गतेसम्म वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा चल्ने यस प्रदर्शनीमा पाल्साङ्‌मो लामा, कुलपति नारदमणि हार्तम्छाली र सुभाष कुमार शाक्य लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार