सुर्खेत । कर्णालीको राजधानी सुर्खेतमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनले माहोल तातिसकेको छ। चुनावी मैदानमा होमिएका उम्मेदवारहरू अहिले गाउँ-गाउँ र बस्ती-बस्ती पुग्न थालेका छन्। तर अचम्मको कुरा के छ भने, भोट माग्न मतदाताको दैलोमा पुग्दा उम्मेदवारहरूको हातमा न त औपचारिक घोषणापत्र छ, न त लिखित प्रतिबद्धतापत्र नै।
उम्मेदवारको दौड: गाउँ छिर्ने हतारो अहिले सुर्खेतका दुवै निर्वाचन क्षेत्रका मुख्य दलका उम्मेदवारहरू मतदाता रिझाउन पालिकाहरूमा व्यस्त छन्। विशेष गरी क्षेत्र नं. २ का उम्मेदवारहरू-नेपाली कांग्रेसका नारायण कोइराला, एमालेका कुलमणि देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा र नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल—अहिले पश्चिम सुर्खेतका गाउँहरूमा ‘भोट’को खोजीमा दौडधुप गरिरहेका छन्।
कांग्रेसका उम्मेदवार नारायण कोइराला वराहताल र पञ्चपुरीका कार्यकर्तासँग भेटघाटमा व्यस्त हुनुहुन्छ। उहाँको हातमा अहिले घोषणापत्र नभए पनि सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी प्रशासनको “मौखिक आश्वासन” भने टन्नै छ। उता, एमालेका कुलमणि देवकोटा चौकुनेका मतदातासँग भेट्दै “समृद्ध सुर्खेतको सपना” बाँडिरहनुभएको छ। एमालेको दाबी छ—पश्चिम सुर्खेतको विकासमा हाम्रो भूमिका निर्णायक छ, त्यसैले जनताले हामीलाई नै विश्वास गर्छन्।

नयाँ दलको निशाना: पुरानाको बेथिति र नयाँको आशा यो दौडमा नयाँ शक्तिहरू पनि कम छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटाले चौकुने पुगेर पुराना दलहरूले विकास गर्न नसकेको र बेथिति बढाएको भन्दै “नयाँलाई एकपटक जाँच्न” मतदातासँग आग्रह गरिरहनुभएको छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल पनि वराहतालका घरदैलोमा व्यस्त देखिनुहुन्छ।
क्षेत्र नं. १ मा पनि दृश्य उस्तै छ। कांग्रेसका विष्णुबहादुर खड्का, एमालेका ध्रुवकुमार शाही, रास्वपाका टेकबहादुर सिंह र नेकपाका जितबहादुर राना सबैजना बिनाघोषणापत्र नै मतदाताको घरमा पुगेका छन्।
किन खाली हात छन त उम्मेदवार? घोषणापत्र किन छैन त? भन्ने प्रश्नमा दलहरूको तयारी उस्तै छ—”निर्माण कार्य जारी छ।” कांग्रेस सचिव देवकुमार सुवेदी र एमाले प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेना दुवैका अनुसार अहिले मतदाताको मनोभावना बुझ्न पहिलो चरणमा गाउँ पसेका हुन्। केही दिनभित्रै लिखित प्रतिबद्धता तयार हुने र त्यसपछि पुनः ‘हात-हातमा घोषणापत्र’ लिएर गाउँ पस्ने उनीहरूको योजना छ।
अहिलेलाई भने सुर्खेतका मतदाता उम्मेदवारका अनुहार हेरेर र उनीहरूका भाषण सुनेरै चित्त बुझाउन बाध्य छन्। घोषणापत्रले दिने भविष्यको सपनाभन्दा पनि अहिले उम्मेदवारको गाउँ छिर्ने हतारोले सुर्खेतको निर्वाचनलाई निकै रोचक बनाएको छ।
प्रतिक्रिया दिनुहोस्