२०८३ वैशाख ६ , आइतबार
सुर्खेतको चुनावी राप

पुराना दलका उम्मेद्वारलाइ बिरासत ढल्ने चिन्ता



सुर्खेत । कर्णालीको मुटु र प्रदेशको राजधानी सुर्खेतमा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनले राजनीतिक पारो ह्वात्तै बढाएको छ। यसपटकको चुनाव सुर्खेतका लागि केवल मतको गणना मात्र होइन, दशकौँदेखि कायम राजनीतिक विरासत र साखको अग्निपरीक्षा पनि हो। एकातिर नेपाली कांग्रेस आफ्नो पुरानो किल्ला जोगाउन कसरत गरिरहेको छ भने अर्कोतिर नेकपा (एमाले) लगायतका दलहरू त्यो किल्ला भत्काएर नयाँ इतिहास लेख्ने दाउमा छन्।

विगतका चुनावहरू हेर्ने हो भने सुर्खेतको राजनीति दुई ‘हेभिवेट’ नेताहरू—पूर्णबहादुर खड्का र हृदयराम थानीको वरिपरि घुम्ने गर्थ्यो। वि.सं. २०४८ देखि निरन्तर चुनावी मोर्चा सम्हाल्दै आउनुभएका खड्का र २०५१ देखि मैदानमा उत्रिनुभएका थानी यसपटक भने उम्मेदवारको सूचीमा हुनुहुन्न। यी दुई दिग्गज नेताहरूको अनुपस्थितिले सुर्खेतको चुनावी मैदान यसपटक अलि फरक र नयाँपनले भरिएको महसुस गरिएको छ।

गत निर्वाचनमा कांग्रेसले दुवै क्षेत्रमा सानदार जित हासिल गरेको थियो। क्षेत्र नं. १ मा पूर्णबहादुर खड्का र क्षेत्र नं. २ मा हृदयराम थानीले एमालेका उम्मेदवारहरूलाई पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएको थियो। तर, यसपटक कांग्रेसले ती विरासत जोगाउन नयाँ अनुहार अघि सारेको छ। क्षेत्र नं. १ मा खड्काकै सहोदर भाइ विष्णुबहादुर खड्का र क्षेत्र नं. २ मा थानी निकट मानिने नारायण कोइराला चुनावी मैदानमा उत्रिएका छन्। कांग्रेसका नेताहरू भन्छन्— “हामीले गरेका विकासका काम र कार्यकर्ताको चट्टानी एकता नै हाम्रो जितको मुख्य आधार हो।”

यता, नेकपा (एमाले) भने यसपटकको नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क देखिन्छ। अघिल्लो चुनावमा कांग्रेस र माओवादीको बलियो गठबन्धन हुँदा पनि आफ्ना उम्मेदवारले ल्याएको सम्मानजनक मतलाई एमालेले आफ्नो शक्तिको रूपमा लिएको छ। क्षेत्र नं. १ मा अनुभवी नेता ध्रुवकुमार शाही र क्षेत्र नं. २ मा कुलमणि देवकोटालाई अघि सार्दै एमालेले यसपटक ‘एक्लै लड्ने र जित्ने’ रणनीति लिएको छ। सबै दलहरू छुट्टाछुट्टै निर्वाचनमा होमिएकाले पनि आफ्नो सङ्गठनको बलमा कांग्रेसको विरासत तोडिने एमालेका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाको दाबी छ।

तर चुनावी मैदान यतिमा मात्रै सीमित छैन। पुराना दलहरूको विरासतलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी पनि निकै आक्रामक रूपमा प्रस्तुत भएका छन्। क्षेत्र नं. १ मा टेकबहादुर सिंह र क्षेत्र नं. २ मा रमेशकुमार सापकोटालाई उम्मेदवार बनाएको रास्वपाले ‘परिवर्तन’को नारा दिएर मतदाताको मन जित्ने प्रयास गरिरहेको छ।

त्यसैले, यसपटकको निर्वाचनले सुर्खेतको राजनीतिमा नयाँ मोड ल्याउने निश्चित छ। एकातिर पुराना दलहरूलाई आफ्नो साख जोगाउनु छ भने अर्कोतिर नयाँ उम्मेदवार र दलहरूलाई आफूलाई प्रमाणित गर्नु छ। हेर्नु यो छ कि, सुर्खेतका मतदाताले फेरि पनि पुरानै विरासतलाई निरन्तरता दिन्छन् या नयाँ इतिहासको पाना कोर्छन्।

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार