२०८३ वैशाख ६ , आइतबार
राष्ट्र बैंककाे त्रैमासिक प्रतिवेदन

कर्णालीमा तलब वृद्धिदर देशकै न्यून, गण्डकीमा सबैभन्दा उच्च



सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कर्णाली प्रदेशका श्रमिक तथा कर्मचारीको तलब र ज्यालादर वृद्धिदर देशभरमै सबैभन्दा सुस्त देखिएको छ। अन्य प्रदेशहरूमा आम्दानीको ग्राफ उत्साहजनक रूपमा उकालो लागिरहँदा कर्णालीमा भने वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक मात्र २ प्रतिशतले बढेको हो। यो वृद्धिदर राष्ट्रिय औसत र अन्य प्रदेशको तुलनामा निकै कमजोर हो, जसले कर्णालीका श्रमिकहरूको क्रयशक्तिमा खासै सुधार हुन नसकेको संकेत गर्दछ।

तथ्याङ्क अनुसार कर्णालीको तुलनामा अन्य प्रदेशको वृद्धिदर निकै लोभलाग्दो छ। सबैभन्दा बढी गण्डकी प्रदेशमा ९.७१ प्रतिशतले तलब तथा ज्याला बढेको छ भने लुम्बिनीमा ८.६४ र कोशीमा ६.७७ प्रतिशतको वृद्धि मापन गरिएको छ। यस्तै सुदूरपश्चिममा ५.६०, बागमतीमा ४.७४ र मधेशमा ४.४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ।

समग्र देशको अवस्थालाई हेर्दा भने यस वर्ष श्रमिकको आम्दानीमा सकारात्मक सुधार आएको देखिन्छ। राष्ट्रिय स्तरमा तलब तथा ज्याला सूचकांक ६.०३ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो। गत वर्ष सोही अवधिमा यो वृद्धिदर मात्र २.८५ प्रतिशतमा सीमित थियो। कर्णालीमा भने आर्थिक गतिविधि वा अन्य कारणले गर्दा यो राष्ट्रिय उत्साहको लहर पुग्न नसकेको देखिन्छ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार